काठमाडौं । भारतको विदेश मन्त्रालयमा नेपालमा भदौ १० गते आएको बाढीपछि उत्पन्न अवस्थाबारे शुक्रबार छलफल भएको छ ।
विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकमा नेपालमा भइरहेको राहत तथा उद्धार कार्य र नेपालमा रहेका भारतीय नागरिकको अवस्थाबारे जानकारी लिइएको हो ।
जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले भारतीय नागरिकको अवस्थाबारे अद्यावधिक जानकारी गराएको बताएका छन् ।
बैठकमा नेपालमा थप राहत सामग्री पठाउने विषयमा पनि छलफल भएको उनले जनाएका छन् । नेपालमा राहत तथा उद्धारसम्बन्धी सहयोगलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले बताएका छन् ।
भारतको विदेश मन्त्रालयमा बिहीबार पनि नेपालमा बाढीपछिको अवस्थाबारे समीक्षा बैठक भएको थियो ।
भारतले बाढीपीडितका लागि बुधबार र बिहीबार गरी दुई खेपमा ४७.५ टन राहत तथा चिकित्सकीय सामग्री नेपाल पठाइसकेको छ ।








प्रतिक्रिया