Logo

समाचार

थुनिएको तालको पानीको बहाव रोकिएपछि चीनमा उद्धार कार्य पुनः सुरु



काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्र केरुङमा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी तालबाट भएको पानीको बहाव रोकिएपछि चीनले खोज तथा उद्धार कार्य पुनः सुरु गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ताल भरिएर बाँधमाथिबाट पानी बग्न थालेपछि बाढीको जोखिम बढेको थियो। जोखिमका कारण केही घण्टाअघि खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो।

पानीको बहाव रोकिएपछि जोखिम केही कम भएको मूल्यांकन गर्दै चिनियाँ अधिकारीहरूले उद्धार कार्य पुनः सञ्चालन गरेका हुन्।

तालको अवस्था र पानीको सतहमा हुन सक्ने परिवर्तनको निगरानीका लागि चिनियाँ राष्ट्रिय टेलिभिजन तथा आपत्कालीन उद्धार टोलीले क्षेत्रमा विशेष क्यामेरा उपकरण जडान गर्न थालेका छन्। तालको अवस्थालाई २४ घण्टा निगरानीमा राखिने जनाइएको छ।

यसअघि नेपाल प्रहरीले तिब्बततर्फ ड्याम फुटेको भन्दै सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन चेतावनी दिएको थियो।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १ : ४९ बजे