Logo

मुख्य समाचार

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग 


२८ श्रावण २०८३, बिहिबार  

0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघका अनुसार साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले श्रेष्ठलाई ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

बिहीबार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी संयन्त्रको प्रयोग गरी पत्रकारलाई पक्राउ गर्ने तथा समाचारको स्रोत खोज्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविपरीत भएको जनाएको हो । 

समाचारमा प्रकाशित विषयप्रति चित्त नबुझे त्यसको नियमन तथा आवश्यक प्रक्रिया अघि बढाउने अधिकार प्रेस काउन्सिल नेपालमा रहेको उल्लेख गर्दै महासंघले सरकारी संयन्त्रको प्रयोग गरी पत्रकारलाई पक्राउ गर्ने तथा समाचारको स्रोत खोज्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविपरीत भएको ठहर गरेको छ ।

‘समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल हो । यसको दुरुपयोग गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध रहेको महासंघ ठम्याइ छ,’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले घटनाले लोकतान्त्रिक मूल्य–मान्यता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको जनाएको छ । सरकारको यस्तो शैलीप्रति खेद व्यक्त गर्दै महासंघले घटनाको कडा भत्र्सना गरेको छ ।

‘यो घटनाले लोकतान्त्रिक मूल्य—मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ । महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गर्न, प्रेसविरोधी व्यवहार सच्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ । समाचारसँग सम्बन्धित विषय भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघले श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौं प्रहरी परिसरमा धर्ना समेत दिएको छ । परिसरमा भेला भएका पत्रकारहरुले प्ले कार्ड बोकेर नाराबाजी गरेका छन् । 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  १० : ५४ बजे