Logo

मुख्य समाचार

सात दिनपछि अस्पतालबाट डिस्चार्ज भए डिल्ली हरिजन



काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजन सात दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

आमरण अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हरिजनले डिस्चार्जपछि भावुक हुँदै सामाजिक सञ्जालमार्फत आफ्ना अभिभावक, चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले अस्पतालमा बिताएको सात दिन आफ्नो जीवनकै कठिन र भावनात्मक समयमध्ये एक भएको बताएका छन्। आइसियुमा उपचाररत रहँदा आफूलाई लिएर बुवा–आमाले भोग्नुपरेको पीडाप्रति क्षमा माग्दै उनले आफ्नो उद्देश्यबाट पछि नहटेको बताएका छन्।

‘म आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन, हजारौँ ःबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सक, मेडिकल विद्यार्थी र आउने पुस्ताका लाखौँ चिकित्सकहरूको उज्ज्वल भविष्य, अधिकार र सम्मानका लागि आवाज उठाउँदै आएको छु,’ हरिजनले भनेका छन्।

उनले उपचार तथा अभियानका क्रममा सहयोग गर्ने चिकित्सकहरू डा. बद्री रिजाल, डा. कुञ्जाङ शेर्पा, डा. कृष्ण कापर र डा. अरुण उप्रेतीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। अभियानलाई अघि बढाउन कानुनी दस्तावेजदेखि सञ्चारमाध्यमसँगको समन्वयसम्म डा. उप्रेतीको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।

त्यस्तै, ल्ब्ःक् का निर्देशक, प्रशासन, उपचारका लागि समिति गठनमा संलग्न चिकित्सक, अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति पनि उनले आभार व्यक्त गरेका छन्। अस्पतालमा रहँदा आफूले घरजस्तै आत्मीयता महसुस गरेको उनको भनाइ छ।

हरिजनले अभियानलाई आम नागरिकसम्म पु¥याउन भूमिका खेलेका सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएका छन्।

अस्पतालबाट डिस्चार्ज भए पनि अभियान भने समाप्त नभएको उनले स्पष्ट पारेका छन्। सरकारसँग भएको सहमति कागजमा मात्र सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको माग छ।

‘अब म आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, अझ संयमित तर सशक्त रूपमा हामीबीच भएको सहमतिको प्रभावकारी कार्यान्वयनका लागि अघि बढ्नेछु,’ उनले भनेका छन्।

सरकारसँग भएको सहमति कार्यान्वयन भएको देख्न चाहेको बताउँदै हरिजनले अभियानमा साथ दिने सबैको विश्वास र योगदान आफूले कहिल्यै नबिर्सने बताएका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : २५ बजे