रामेछाप । रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो ।
राजमार्गको कति स्थानमा पहिरो तथा लेदोले अवरोध पु¥याएको छ भन्ने यकिन भइसकेको छैन । पहिरो खसेका स्थानमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट लेदो र पहिरो आएर सडक ठूलो मात्रामा पुरिएको छ। वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत रहेको जनाइएको छ ।
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न काभ्रे र सिन्धुली प्रहरीले यात्रुलाई आग्रह गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने तथा पूर्वबाट काठमाडौं आउँदै गरेका यातायातका साधन बाटोमै रोकिएका छन् ।
काठमाडौंबाट पूर्वतर्फ गएका सवारीसाधन भकुण्डेमा र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन खुर्कोटमा रोकिएका छन् ।
सडक खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो झर्ने क्रम जारी रहेकाले यात्रामा थप समस्या हुन सक्ने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया