काठमाडौं । ५० वर्ष माथिको उमेरमा पिसाबमा रगत देखिए त्यसलाई सामान्य रूपमा नलिई तत्काल युरोलोजिस्टसँग परामर्श गर्नुपर्ने विशेषज्ञहरूले बताएका छन्।
पिसाबमा रगत देखिनु पिसाब थैली, मिर्गौला वा पिसाब नलीको क्यान्सरको संकेत हुनसक्ने भएकाले समयमै परीक्षण आवश्यक रहेको काठमाडौं मेडिकल कलेज(केएमसी)अस्पतालका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.विजयमान सिंह कटवालले बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. कटवालले विशेषगरी धुम्रपान गरेका व्यक्तिमा पिसाबमा रगत देखिए क्यान्सरको सम्भावनालाई गम्भीर रूपमा हेर्नुपर्ने पनि बताए । उनका अनुसार पिसाब पोल्ने वा संक्रमणबिना एकपटक मात्रै रगत देखिएपनि ५० वर्षभन्दा माथिका व्यक्तिले तत्काल चिकित्सकसँग जाँच गराउनुपर्छ ।
उनले भने,‘५० वर्षभन्दा माथिको मान्छेलाई पिसाबमा रगत देखियो भने एकदम खतरनाक हुन्छ । पिसाब थैलीको क्यान्सर अथवा मृगौलाको, पिसाब नली, पिसाब थैलीको क्यान्सर हुने चान्स हुन्छ । चुरोट खाने मान्छेहरू हुनुहुन्छ भने पिसाबमा रगत देखियो भने म्याक्सिमम चान्सेस क्यान्सर हो कि भन्ने हुन्छ। ’
युरोलोजीले मिर्गौलामा पिसाब बन्नेदेखि पिसाबको नली हुँदै पिसाब थैली र बाहिर निस्कने प्रक्रियासँग सम्बन्धित सम्पूर्ण समस्याको उपचार गर्ने उनले बताए । नेपालमा सबैभन्दा बढी देखिने युरोलोजीसम्बन्धी समस्यामध्ये मिर्गौलाको पत्थरी र उमेर बढ्दै गएपछि पुरुषमा देखिने प्रोस्टेटको समस्या प्रमुख रहेको उनको भनाइ छ ।
६० वर्षपछि प्रोस्टेटको समस्या बढ्न सक्छ
डा.कटवालका अनुसार उमेर बढ्दै गएपछि विशेषगरी ६० वर्षपछि पुरुषमा प्रोस्टेट ग्रन्थी विस्तारै ठूलो हुँदै जानसक्छ । प्रोस्टेटले पिसाबको नलीलाई चारैतिरबाट थिच्न थालेपछि पिसाबको धार कमजोर हुने, पिसाब पूरा ननिस्कने, पटक–पटक संक्रमण हुने र राति धेरैपटक पिसाब गर्न उठ्नुपर्ने समस्या देखिन सक्छ ।
त्यस्तै, पिसाब लागेपछि रोक्न नसक्ने, तत्काल शौचालय जानुपर्ने र समयमा पुग्न नसक्दा कपडा भिज्ने समस्या पनि प्रोस्टेटसँग सम्बन्धित हुनसक्ने उनले बताए ।
प्रोस्टेट किन बढ्छ भन्ने विषयमा ठ्याक्कै एउटै कारण प्रमाणित नभए पनि उमेरसँगै हुने परिवर्तन प्रमुख कारण रहेको उनको भनाइ छ ।
‘साँघुरो बाटो भएपछि पिसाबको फ्लो सानो हुने भयो । पिसाब सबै ननिथ्रिने भयो । अलिकति पिसाब बाँकी नै रहन्छ। मान्छेलाई मेरो पिसाब पुरै गएको छैन कि क्या हो जस्तो फिल हुन्छ। अनि अर्को पिसाबमा घरी–घरी इन्फेक्सन हुन्छ,’उनले भने ।
मिर्गौला पत्थरीमा पानीको महत्वपूर्ण भूमिका
मिर्गौलामा पत्थरी बन्न नदिन पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । शरीरबाट दैनिक करिब डेढ लिटर पिसाब उत्पादन हुनेगरी पानी पिउनुपर्ने र त्यसका लागि सामान्यतया दिनमा करिब साढे दुईदेखि तीन लिटर पानी वा झोलिलो पदार्थ सेवन गर्न सकिने उनले बताए ।
चिया, कफी, दालको झोललगायत तरल पदार्थलाई पनि यसमा समेट्न सकिने उनको भनाइ छ । पर्याप्त पानी नपिउँदा पिसाबमा रहेका विभिन्न नुन तथा खनिज पदार्थ जम्मा हुँदै गएर पत्थरी बन्न सक्ने उनले बताए । पर्याप्त पानीले शरीरको पिसाब प्रणालीलाई ‘फ्लस’ गरिरहने भएकाले पत्थरीको जोखिम कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
उनले भने,‘अराउन्ड साढे दुईदेखि तीन लिटरसम्म पानी अथवा झोलिलो पदार्थ दिनमा खान सकियो भने त्यसले चाहिँ साढे एक लिटरजति पिसाब बनाउँछ कि भन्ने हाम्रो अनुमान हो । पानी मात्र होइन, चिया, कफी, दालको झोल यी सबै गरेर अराउन्ड तीन लिटर जति पु¥यायो भने मिनिमम त्यसले फ्लस गर्छ ।’
फास्टफुड तथा अत्यधिक नुनिलो खाना खाने, शारीरिक गतिविधि कम गर्ने र पर्याप्त पानी नपिउने व्यक्तिमा पत्थरीको जोखिम बढी हुनसक्ने उनले बताए ।
एकपटक पत्थरी भएकामध्ये धेरैलाई पुनः हुनसक्छ
डा. कटवालका अनुसार एकपटक मिर्गौलामा पत्थरी भइसकेका करिब ५० प्रतिशत व्यक्तिमा जीवनको कुनै समयमा पुनः पत्थरी हुने सम्भावना हुन्छ । कसैलाई केही महिनामै पुनः समस्या देखिन सक्छ भने कसैलाई आठ–दश वर्षपछि पनि पत्थरी हुनसक्छ ।
कम उमेरमै पत्थरी देखिएका व्यक्तिमा भविष्यमा पुनः पत्थरी हुने सम्भावना अझ बढी हुनसक्ने उनले बताए। शरीरमा क्याल्सियमको मात्रा बढाउने हर्मोन, युरिक एसिड, खानपान तथा मिर्गौलाको बनावटकै कारण पनि पत्थरी बन्न सक्ने उनको भनाइ छ।
उनले भने,‘एकपटक ढुङ्गा भइसकेको मान्छेलाई आफ्नो जिन्दगीभरि अर्कोपटक ढुङ्गा आउने संभावना हुन्छ । १०० जनामा ५० जनालाई फेरि ढुङ्गा हुन्छ । कसै–कसैलाई छ–सात महिनामा, एक वर्षमै हुन्छ भने कसै–कसैलाई आठ–दश वर्षमा हुन्छ । तर ५० प्रतिशतलाई रिकरेन्ट स्टोन हुने चान्स हुन्छ ।’
पत्थरीको आकार मात्रै नभई त्यसको बनावट र चौडाइले पनि आफैं बाहिर निस्कने सम्भावना निर्धारण गर्ने उनले बताए । लामो तर साँघुरो आकारको पत्थरी अपेक्षाकृत सजिलै निस्कन सक्ने भए पनि मकैको गेडाजस्तो गोलो तथा चौडा पत्थरी निस्कन कठिन हुने उनको भनाइ छ ।
महिलामा पिसाब संक्रमण बढी
महिलामा पुरुषको तुलनामा पिसाबको संक्रमण बढी देखिनुको प्रमुख कारण पिसाब फेर्ने र दिसा गर्ने स्थान नजिक हुनु रहेको डा. कटवालले बताए।
महिलाले जननाङ्ग सफा राख्ने, पर्याप्त पानी पिउने र पिसाब धेरै बेरसम्म रोकिराख्ने बानी नगर्नुपर्ने उनले सुझाव दिए।
‘महिलाहरूकोमा दिशा गर्ने ठाउँ र पिसाब फेर्ने ठाउँ एकदम नजिकै हुन्छ। म्याक्सिमम किटाणुहरू पनि दिसामा देखिने किटाणुहरू नै पिसाबमा देखिराखेको हुन्छ। त्यसले गर्दा पिसाबको इन्फेक्सन धेरै हुन्छ,’उनले भने ।
तर पिसाब लाग्नेबित्तिकै हरेक केही मिनेटमा शौचालय दौडिने बानी पनि आवश्यक नभएको भन्दै उनले सामान्य अन्तरालमा पिसाब गर्ने बानी विकास गर्न सुझाव दिए।
पिसाबको संक्रमण बारम्बार भइरहेमा केवल एन्टिबायोटिक सेवन गरेर मात्र समस्या समाधान नहुने चिकित्सकको भनाइ छ । पुरुषमा प्रोस्टेटका कारण पिसाब थैलीमा पिसाब बाँकी रहने अवस्था भए त्यसको उपचार गर्नुपर्ने उनले बताए ।
उनले भने,‘प्रोस्टेटको कारणले गर्दा भएको रहेछ भने प्रोस्टेटको उपचार गर्नुप¥यो । प्रोस्टेट नर्मल छ, पिसाबको धार राम्रो छ, पिसाब फेरिसकेपछि पिसाब धेरै बाँकी रहँदैन भने हामीले सिम्पल औषधि, एन्टिबायोटिक्स दिएरै ठिक गर्छौं । त्यो पनि कल्चर हेरेर, कल्चर सेन्सिटिभिटी भयो भने मात्र र त्योअनुसारको औषधि दिन्छौँ।’
मिर्गौलामा संक्रमण भएको अवस्थामा पनि उचित उपचार आवश्यक हुन्छ । सामान्य अवस्थामा पिसाबको कल्चर तथा सेन्सिटिभिटी परीक्षणका आधारमा उपयुक्त एन्टिबायोटिक छनोट गरिने उनले बताए ।
तर बिरामीलाई उच्च ज्वरो आउने, पिसाब पोल्ने र अवस्था गम्भीर हुने अवस्थामा कल्चर रिपोर्टका लागि ७२ घण्टा कुर्न नसकिने भएकाले चिकित्सकले तत्काल आवश्यक एन्टिबायोटिक सुरु गर्न सक्ने उनले बताए । कल्चर रिपोर्ट आएपछि त्यसअनुसार औषधि परिवर्तन गरिने उनको भनाइ छ ।
पिसाबको समस्या लुकाएर नराख्न आग्रह
डा. कटवालले पिसाबसम्बन्धी समस्या भए लाज वा संकोचका कारण उपचार नगरी बस्न नहुने बताएका छन्। पिसाब पोल्ने, रगत देखिने, पटक–पटक संक्रमण हुने, पिसाबको धार कमजोर हुने वा पिसाब पूरा ननिस्कनेजस्ता समस्या देखिएमा समयमै युरोलोजिस्टसँग परामर्श गर्न उनले आग्रह गरे।
नेपालमा पछिल्लो समय स्वास्थ्य संस्थामा पहुँच र परीक्षण सुविधा विस्तार भएकाले पहिलेभन्दा धेरै युरोलोजीसम्बन्धी समस्या पहिचान हुन थालेको पनि उनले बताए।
‘पिसाबमा कुनै समस्या छ, रगत आएको छ वा पिसाब पोलेको छ भने हिचकिचाउनु हुँदैन। नजिकको युरोलोजिस्टलाई भेटेर समयमै उपचार र आवश्यक परीक्षण गराउनुपर्छ,’डा.कटवालले आग्रह गरे । प्रमिला कार्की, नेपाल न्यूज बैंक








प्रतिक्रिया