Logo

मनोरञ्जन

‘लज्जावती’ : दुई करोडको लगानी, दर्शकको हातमा भविष्य



काठमाडौं । यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित पारिवारिक चलचित्र भएको निर्माण टीमको दाबी छ ।

निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रमा प्रेमसँगै पारिवारिक सम्बन्ध, संघर्ष, त्याग, आत्मीयता र नेपाली समाजका विविध पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

चलचित्रबारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै निर्माता कमलप्रसाद शर्माले ‘लज्जावती’मा गरिएको करिब दुई करोड रुपैयाँको लगानी सुरक्षित हुने वा नहुने भन्ने कुरा अब दर्शकको निर्णयमा निर्भर रहने बताए । निर्माण टिमले आफ्नो तर्फबाट कथा, प्रस्तुति, गीत, ट्रेलर र प्रचारप्रसारमा मेहनत गरिसकेको उनको भनाइ छ ।

चलचित्रका गीत र ट्रेलरले पाएको प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ । तर अन्ततः फिल्मको व्यापारका लागि दर्शक हलसम्म पुग्नुपर्ने हुन्छ ।

‘दर्शक हलसम्म गइदिनुभयो भने लगानी अटोमेटिक उठ्छ । त्यसैले अहिले हामीलाई सबैभन्दा धेरै दर्शकको साथ र सहयोग चाहिएको छ,’ शर्माले भने ।

‘लज्जावती’ यही साउन २९ गते नेपालका विभिन्न हलमा प्रदर्शनमा आउने तयारीमा छ । निर्माण पक्षले चलचित्र नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली दर्शकसम्म पनि पुर्याउने तयारी गरेको जनाएको छ ।

निर्माता शर्मा सम्पूर्ण दर्शकलाई साउन २९ गते हलसम्म पुगेर चलचित्र हेर्न आग्रह गर्छन् । ‘देश–विदेशमा रहनुभएका सम्पूर्ण दर्शकलाई साउन २९ गते हलमा आएर ‘लज्जावती’ हेरिदिनुहोस् भन्न चाहन्छु । तपाईंहरूको साथ, सहयोग र मायाको अहिले हामीलाई एकदमै धेरै खाँचो छ,’ उनले भने ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : ३२ बजे