काठमाडौं । यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित पारिवारिक चलचित्र भएको निर्माण टिमको दाबी छ ।
निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रमा प्रेमसँगै पारिवारिक सम्बन्ध, संघर्ष, त्याग, आत्मीयता र नेपाली समाजका विविध पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई कलाकारहरूले ‘मिठो कमर्सियल लभ स्टोरी’देखि ‘मनोरञ्जनसँगै प्रेमका विविध आयाम प्रस्तुत गर्ने नेपाली कथा’का रूपमा व्याख्या गरेका छन् । यतिबेला निर्माण टिम र कलाकारहरु चलचित्रको प्रचार केन्द्रित छन् ।
‘लज्जावती’मा मिठो लभ स्टोरी छ : मेनुका माझी
अभिनेत्री मेनुका माझीका लागि ‘लज्जावती’ एउटा फरक अनुभव भएको चलचित्र हो । उनले चलचित्रलाई ‘मिठो कमर्सियल लभ स्टोरी’का रूपमा चित्रण गरेकी छन् ।
‘लज्जावती’ नाम सुन्दा नै एक किसिमको लज्जा र सरलताको भाव आउने बताउँदै माझीले चलचित्रमा प्रेमका विभिन्न उतारचढाव समेटिएको बताइन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले भनिन्, ‘यो कमर्सियल लभ स्टोरी मुभी हो । एकदमै मिठो प्रेमकथा छ । प्रेममा हुने विभिन्न उतारचढाव र धेरै कुराहरू यसमा छन् ।’
चलचित्रमा उनको पात्र बाहिरबाट हेर्दा सरल देखिए पनि कथाको विकाससँगै त्यसको अर्को पाटो खुल्दै जाने उनले बताइन् । चलचित्रमा आफ्नो पात्रको बुवा–आमा सानैमा बितेपछि दाजु–भाउजूको संरक्षणमा हुर्किएको परिवेश रहेको उनको भनाइ छ ।
चलचित्रमा अभिनेत्रीको पात्रसँग घुलमिल हुन आफूलाई कठिन नभएको उनले बताइन् । चलचित्र निर्माणअघि गरिएको कार्यशालाले कलाकारलाई पात्र बुझ्न र अभिनयमा सहज हुन सहयोग गरेको उनको अनुभव छ ।
‘हामीले सुरुदेखि नै वर्कसप गरेर पात्रको अध्ययन गरेका थियौँ । त्यसले काम गर्न निकै सहज भयो । पात्रसँग घुलमिल हुन कुनै असहजता भएन,’ उनले भनिन् ।
उनका अनुसार चलचित्रमा काम गर्ने क्रममा कलाकारबीच पनि राम्रो सहकार्य रह्यो । मुकुन भुसाल र श्री कृष्ण निरौलालगायत सबै कलाकारले आफ्नो ठाउँबाट राम्रो काम गरेको उनले बताइन् ।
माझीले दर्शकलाई नेपाली चलचित्र हेर्न र नेपाली कलाकारलाई प्रोत्साहन गर्न आग्रह गरेकी छन् ।
उनका अनुसार ‘लज्जावती’ केवल प्रेमी–प्रेमिकाको प्रेममा सीमित छैन । प्रेमका विभिन्न रूप चलचित्रमा देखाइएको उनको भनाइ छ ।
‘माया प्रेम केटाकेटीमा मात्रै हुँदैन । दाजुभाइ, आमाबुबा, परिवार सबैसँग हुन्छ । माया त संसारलाई जोड्ने कुरा हो । यही फिल्ममा पनि मायाका धेरै रूप देखिन्छन्,’ उनले भनिन् ।
चलचित्रले प्रेममा हुने संघर्ष र फरक खालको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले दर्शकलाई भावनात्मक रूपमा छुने उनको विश्वास छ ।
माझीले चलचित्र साउन २९ गतेदेखि नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रदर्शनमा आउने भएकाले सबै दर्शकबाट साथ, सहयोग र माया पाउने अपेक्षा व्यक्त गरिन् ।
साधारण मान्छेहरूको प्रेम कथा हो : मुकुन भुसाल
अभिनेता मुकुन भुसालले ‘लज्जावती’लाई नेपालीपन बोकेको प्रेमकथामा आधारित चलचित्रका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार चलचित्रमा सामान्य मानिसको जीवन र प्रेमकथा प्रस्तुत गरिएको छ । चलचित्रमा उनले तराई क्षेत्रमा चल्ने ई–रिक्सा अर्थात् अटो चालकको भूमिका निर्वाह गरेका छन् ।
‘यो प्रेम कथा हो, तर अलिकति नेपालीपन भएको प्रेम कथा । एकदम साधारण मान्छेहरूको प्रेम कथा हो,’ उनले भने ।
अटो चालकको भूमिकामा देखिन आफूलाई त्यति कठिन नभएको उनको भनाइ छ । आफूलाई बाइक चलाउन आउने भएकाले अटो चलाउन पनि धेरै समस्या नभएको उनले बताए । यद्यपि चलचित्रको छायांकनमा जानुअघि उनले केही अभ्यास गरेका थिए ।
‘म बाइक चलाउन सक्ने भएकाले अटो चलाउन त्यति गाह्रो भएन । अभ्यासचाहिँ गरेँ । तर पात्रको बोलीचाली, प्रतिक्रिया र मानसिक पक्षमा चाहिँ काम गरिएको थियो,’ उनले भने ।
भुसालले चलचित्रका लागि बाह्य रूपमा धेरै तयारी गर्न नपरे पनि पात्रको मनोविज्ञान बुझ्न भने काम गरेको बताए ।
चलचित्रमा जोडिनुको प्रसंग सुनाउँदै उनले लेखक प्रदीप भारद्वाजको फोनपछि आफूले निर्देशक तथा निर्माण टिमसँग छलफल गरेर काम सुरु गरेको बताए ।
नयाँ पुस्ताका कलाकारसँग काम गर्दाको अनुभव पनि उनका लागि सकारात्मक रह्यो । चलचित्रको प्राविधिक पक्षबाट पनि आफूले धेरै कुरा सिक्ने अवसर पाएको उनको भनाइ छ ।
भुसालका अनुसार ‘लज्जावती’ कुनै गम्भीर सन्देश दिनेभन्दा पनि मनोरञ्जनका लागि बनाइएको चलचित्र हो । यद्यपि प्रेममा हुने त्याग, बलिदान र आत्मीयतालाई दर्शकले अनुभव गर्न सक्ने उनले बताए ।
चलचित्र क्षेत्रलाई उनले आफूलाई निरन्तर निखार्ने क्षेत्रका रूपमा पनि व्याख्या गरे । ‘सिनेमा भनेको आफैँसँगको प्रतिस्पर्धा पनि हो । यहाँ पुगेँ, अब सिक्नुपर्ने केही छैन भन्ने हुँदैन । यो जीवनभर सिकिरहने प्रक्रिया हो,’ उनले भने ।
नेपाली चलचित्रमा करियर बनाउन सकिने बताउँदै उनले नयाँ पुस्तालाई पनि यस क्षेत्रमा सम्भावना रहेको बताए । दर्शकलाई ‘लज्जावती’ हेर्न आग्रह गर्दै भुसालले चलचित्र हेर्दा हलमा बिताएको समय मनोरञ्जनात्मक हुने दाबी गरे ।
‘नयाँ टिम, नयाँ जोस, नयाँ प्रविधि प्रयोग गरेर राम्रो सिनेमा बनाउने प्रयास गरिएको छ । सिनेमा राम्रो बनेको छ । हेरेर माया गरिदिनुहोला,’ उनले भने ।
माया केटाकेटीमा मात्रै हुँदैन : जानुका विश्वकर्मा
अभिनेत्री जानुका विश्वकर्माले ‘लज्जावती’लाई परिवार र प्रेमलाई केन्द्रमा राखिएको नेपाली कथा भनेकी छन् ।
उनका अनुसार चलचित्रमा प्रेमलाई केवल युवा पुस्ताको सम्बन्धका रूपमा नभई परिवार र समाजका विभिन्न सम्बन्धसँग जोडेर प्रस्तुत गरिएको छ ।
‘माया प्रेम केटाकेटीमा मात्रै हुँदैन । दाजुभाइ, आमाबुबा सबैसँग हुन्छ । मायाले नै संसार थामेको हुन्छ,’ उनले भनिन् ।
चलचित्रमा उनले मुकुन भुसालसँग ‘साउनी’को भूमिका निर्वाह गरेकी छन् । उनको पात्र केही चुलबुले र कमेडी शैलीको रहेको छ ।
आफू वास्तविक जीवनमा पनि केही चुलबुले र धेरै बोल्ने स्वभावको भएकाले पात्रमा घुलमिल हुन सहज भएको उनले बताइन् ।
‘मेरो पात्र अलिकति उट्पट्याङ र कमेडी खालको छ । म रियल लाइफमा पनि चुलबुले र बोलिरहने भएकाले त्यति अप्ठ्यारो भएन,’ उनले भनिन् ।
मुकुन भुसालसँग पहिलोपटक काम गर्दा सुरुवातमा केही डर लागेको भए पनि उनको व्यवहार र कामप्रतिको लगाव देखेपछि सहज भएको उनले बताइन् ।
चलचित्र छायांकनका क्रममा चितवनको गर्मीमा काम गर्दा भोगेको अनुभव पनि उनले सम्झिइन् । विशेषगरी गीतमा सहभागी कोरस कलाकारहरूले गरेको मेहनतले आफूलाई प्रभावित बनाएको उनको भनाइ छ ।
‘चितवनको गर्मीमा निकै गाह्रो थियो । हामीले स्यान्डिल लगाउन पाएका थियौँ, तर ब्याकग्राउन्डमा नाच्ने नानीहरूले समेत त्यस्तो सुविधा नपाई निकै मेहनत गर्नुभयो,’ उनले भनिन् ।
आफू बिरामी हुँदासमेत काम गर्नुपरेको स्मरण गर्दै उनले त्यस समयको अनुभवलाई चलचित्र यात्राको महत्वपूर्ण सम्झनाका रूपमा लिएकी छन् । नेपाली चलचित्रलाई दर्शकले अझै धेरै माया गर्नुपर्ने उनको धारणा छ ।
‘बाहिरका चलचित्रलाई दर्शकले जसरी माया गर्नुहुन्छ, नेपाली चलचित्रलाई पनि त्यसरी नै माया गरिदिनुपर्छ । हाम्रो नेपाली फिल्म पनि बाहिर जानुपर्छ । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउनुपर्छ,’ उनले भनिन् ।
उनले नयाँ कलाकारलाई अवसर र नेपाली चलचित्र उद्योगलाई थप विस्तार गर्न दर्शकको साथ आवश्यक रहेको बताइन् ।
‘हामी अहिले सुरुवाती यात्रामा छौँ । हामीभन्दा जुनियर पुस्ता पनि आउँदैछ । उहाँहरूका लागि पनि स्कोप हुनुपर्छ । त्यसका लागि नेपाली चलचित्रलाई दर्शकले साथ दिनुपर्छ,’ उनले भनिन् ।
आफूले निरन्तर मेहनत गरे सफलता प्राप्त गर्न सकिनेमा विश्वास राख्ने विश्वकर्माले दर्शकलाई चलचित्र हेरेर माया गरिदिन आग्रह गरिन् ।
खलनायकको क्यारेक्टरमा देखिँदैछु : विनोद श्रेष्ठ
चलचित्रमा खलनायकको भूमिकामा रहेका विनोद श्रेष्ठले ‘लज्जावती’मा आफूले नकारात्मक पात्र निर्वाह गरेको बताए । निर्देशक राजबहादुर सानेको सिरियलमा काम गर्ने क्रममा भएको परिचयकै आधारमा आफूलाई चलचित्रमा भूमिका दिइएको उनको भनाइ छ ।
‘मैले करिब दुई वर्ष सिरियलमा काम गरेको थिएँ । त्यही क्रममा राजबहादुर साने सरलाई भेट्ने मौका पाएँ । उहाँको सिरियलमा पनि काम गरेँ । त्यसपछि उहाँले मलाई यो क्यारेक्टरका लागि लिनुभएको हुनसक्छ,’ उनले भने ।
सिरियलमा समेत आफूले नकारात्मक भूमिका निर्वाह गरेकाले चलचित्रको पात्रमा प्रवेश गर्न केही सहज भएको उनले बताए । चलचित्र निर्माणअघि गरिएको कार्यशालाले भने आफूमा थप आत्मविश्वास विकास गरेको उनको अनुभव छ ।
चलचित्रमा आफ्नो पात्र कलेज पढ्ने युवाको भूमिकामा रहेको र त्यसमा सामाजिक पक्षसमेत जोडिएको उनले बताए । ‘मेरो भूमिका नेगेटिभ क्यारेक्टर हो । कलेज ब्वाइको रूपमा देखिन्छु । सामाजिक पात्र पनि छ,’ उनले भने ।
चलचित्रमा काम गर्दाको अनुभव आफूका लागि निकै रमाइलो रहेको श्रेष्ठले बताए । उनका अनुसार ‘लज्जावती’ प्रेमकथासँगै एक्सन र मनोरञ्जनसमेत समेटिएको चलचित्र हो ।
‘यो लभ स्टोरी मुभी हो । एक्सन पनि छ । एकदमै इन्टरटेनिङ मुभी बनेको छ । एउटा सन्देशमूलक पक्ष पनि छ,’ उनले भने ।
प्रेमसँगै परिवार र नेपालीपन
कलाकारहरूको भनाइलाई आधार मान्ने हो भने ‘लज्जावती’को केन्द्रमा प्रेम भएपनि यसको कथा प्रेमी–प्रेमिकाको सम्बन्धमा मात्र सीमित छैन । परिवार, आमाबुबाको माया, दाजुभाइको सम्बन्ध, त्याग, संघर्ष र सामाजिक परिवेशलाई समेत चलचित्रले समेटेको उनीहरूको भनाइ छ ।
चलचित्रमा प्रेमलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ । कसैका लागि प्रेम आकर्षणभन्दा माथिको आत्मीयता हो भने कसैका लागि परिवारसँग जोडिएको भावना । यही विविधतालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण पक्षको दाबी छ ।
कलाकारहरूका अनुसार चलचित्रको अर्को महत्वपूर्ण पक्ष नेपालीपन हो । सामान्य नेपाली परिवेश, पात्रको जीवनशैली र सम्बन्धलाई कथासँग जोडिएकाले दर्शकले आफूलाई कथासँग जोड्न सक्ने उनीहरूको विश्वास छ ।
साउन २९ मा हलमा ‘लज्जावती’
प्रेम, परिवार, संघर्ष, नेपालीपन र मनोरञ्जनलाई समेटिएको दाबी गरिएको ‘लज्जावती’ यही साउन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
प्रेमलाई केन्द्रमा राखिएपनि परिवार, संघर्ष, नेपालीपन र मनोरञ्जनलाई समेत जोडिएको दाबी गरिएको ‘लज्जावती’को वास्तविक प्रभाव भने प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले तय गर्नेछ ।
दुई करोड हाराहारीको लगानीलाई सुरक्षित गर्ने लक्ष्यसहित निर्माण टिम अहिले अन्तिम चरणको प्रचारमा व्यस्त छ । अब साउन २९ गतेपछि चलचित्रले दर्शकको मन र बक्स अफिसमा कस्तो स्थान बनाउँछ भन्ने प्रतीक्षाको विषय बनेको छ । आकांक्षा धामी, नेपाल न्यूज बैंक








प्रतिक्रिया