काठमाडौं । चीनमा निर्मित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट चस्माले विश्व बजारमा तीव्र विस्तार गर्दै नयाँ प्रविधि उद्योगमा चर्चा बटुल्न थालेका छन् । एआई, अग्मेन्टेड रियालिटी (एआर) र एक्सटेन्डेड रियालिटी (इआर) चस्माको माग बढ्दै जाँदा चिनियाँ ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् ।
उद्योगसम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा चीनबाट २४ लाख ६० हजार स्मार्ट चस्मा निर्यात भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ८७ प्रतिशतले बढी हो । विश्वव्यापी स्मार्ट चस्मा आपूर्तिमध्ये चिनियाँ ब्रान्डहरूको हिस्सा २३ प्रतिशत पुगेको छ भने एआर र ईआर चस्मा खण्डमा उनीहरूले ८७ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
रे नियो, एक्सरियल, साओमी, रोकिड, अलिबाबा जस्ता एआई मोडेल कम्पनीहरूले युरोप र अमेरिकालगायतका बजारमा विस्तारलाई तीव्र बनाएका छन् । चीनको प्रमुख नवप्रवर्तन केन्द्र हाङ्झाउस्थित रोकिडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत झु मिङमिङले एआई युगमा स्मार्ट चस्मा सर्वसाधारणका लागि सबैभन्दा लोकप्रिय एआई उपकरण बन्न सक्ने बताएका छन् ।
उनका अनुसार आगामी तीनदेखि पाँच वर्षभित्र एआई चस्मा दैनिक जीवनको सामान्य उपकरणका रूपमा स्थापित हुन सक्छ । बहुआयामिक (मल्टिमोडल) एआई प्रविधिको विकाससँगै स्मार्ट चस्माको प्रयोगक्षेत्र पनि विस्तार भइरहेको छ । अनुवाद, नेभिगेसन, नोट लिने, फोटो खिच्ने, मनोरञ्जन तथा वास्तविक समयमै सूचना उपलब्ध गराउने जस्ता कार्यमा यी उपकरण प्रयोग हुन थालेका छन् । त्यस्तै एआर चस्माले काम, सञ्चार, मनोरञ्जन तथा स्पेसियल कम्प्युटिङका नयाँ सम्भावना पनि खोलिरहेका छन् ।
उद्योग विश्लेषकहरूका अनुसार चीनको स्मार्ट चस्मा उद्योगले हल्का डिजाइन, उन्नत अप्टिक्स र एआई क्षमतामा उल्लेखनीय प्रगति गरिसकेको छ । अब मुख्य चुनौती उपभोक्तालाई आकर्षित गर्ने उपयोगी अनुप्रयोग विकास गर्दै बजार विस्तार गर्नु रहेको उनीहरूको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार एआई चस्मा सामान्य चस्माजत्तिकै सहज र प्रयोगमैत्री बन्दै गएसँगै चिनियाँ ब्रान्डहरूले विश्व बजारलाई प्रारम्भिक चासोको चरणबाट व्यापक प्रयोगको चरणतर्फ लैजाने सम्भावना बढ्दै गएको छ । -सीसीटीभी








प्रतिक्रिया