काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ः० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ । यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।
यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।








प्रतिक्रिया