काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा दोषी अझै पत्ता नलागेको विषयमा राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरेका छन्।
बिहीबार राष्ट्रियसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या भएको एक दशक बितिसक्दा पनि दोषी पत्ता नलाग्नुको कारणबारे सरकारसँग जवाफ मागेका थिए। उनले राज्य संयन्त्र असफल भएको हो कि भन्ने प्रश्नसमेत उठाएका थिए।
जवाफमा गृहमन्त्री गुरुङले निर्मला पन्त हत्या प्रकरण अत्यन्त संवेदनशील विषय भएको भन्दै यसलाई बारम्बार उठाउँदा पीडित परिवारको घाउमा थप पीडा पुग्ने बताए। उनले विगतका सरकारले समाधान गर्न नसकेको विषयको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारमाथि नथोपर्न आग्रह गरे।
रोष्ट्रमबाटै सांसद विश्वकर्मालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले, “म माननीयज्यूलाई नै प्रश्न गर्न चाहन्छु, तपाईंहरू सरकारमा हुँदा हत्यारा किन पत्ता लगाउनुभएन ?” भने।
गृहमन्त्रीको जवाफपछि पूरक प्रश्न गर्ने क्रममा सांसद विश्वकर्माले मन्त्रीले सांसदको प्रश्न गर्ने नैसर्गिक अधिकारमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए। उनले प्रश्न सोध्नु सांसदको अधिकार र त्यसको जवाफ दिनु मन्त्रीको दायित्व भएको उल्लेख गर्दै निर्मला पन्त हत्या प्रकरणबारे पुनः सरकारसँग जवाफ मागे।








प्रतिक्रिया