Logo

विश्व

हमास निःशस्त्रीकरणपछि मात्रै इजरायली फिर्ती : ट्रम्प शान्ति बोर्ड


१९ श्रावण २०८३, मंगलबार  

46
Shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठित शान्ति बोर्डले गाजाबाट इजरायली सेना फिर्ता हुने प्रक्रिया हमासको पूर्ण र प्रमाणित निःशस्त्रीकरणपछि मात्रै सुरु हुने स्पष्ट पारेपछि इजरायलले उठाएको मुख्य आपत्तिलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

यससँगै गाजा युद्धविराम र शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ प्रयासमा इजरायल र अमेरिकी पक्षबीच साझा समझदारी कायम भएको बोर्डले जनाएको छ । शान्ति बोर्डअन्तर्गत गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभले सोमबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका थिए ।

भेटपछि बोर्डले सामाजिक सञ्जाल एक्समार्फत हमासले मध्यस्थकर्तासमक्ष गरेको प्रतिबद्धताअनुसार पूर्ण रूपमा हतियार विसर्जन गरेपछि मात्रै ‘पहेँलो रेखा’ बाहिरको आफ्नो सैन्य उपस्थिति इजरायलले फिर्ता लिने र यस विषयमा दुवै पक्षबीच साझा उद्देश्यमा स्पष्ट समझदारी बनेको जनाएको छ ।

यसअघि बोर्डले गाजाबाट चरणबद्ध इजरायली फिर्ती र तत्काल सैन्य आक्रमण रोक्नुपर्ने प्रस्ताव सार्वजनिक गरेपछि प्रधानमन्त्री नेतान्याहुको सुरक्षा मन्त्रिपरिषद्का दुई सदस्यले उक्त प्रस्ताव अस्वीकार गर्न माग गरेका थिए । प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक गरिएको प्रारूपले इजरायलको आधिकारिक धारणा प्रतिबिम्बित नगरेको र आफ्ना टिप्पणी तथा चिन्ता अमेरिकी पक्षसमक्ष राखिएको बताएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : ४६ बजे