Logo

मुख्य समाचार

हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 



काठमाडौं । विभिन्न धार्मिक अगुवा तथा संस्थाहरूको सहभागितामा रहेको समग्र सनातन ॐकार धार्मिक समाजले धर्म, न्याय, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा अपिल गर्दै सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ।

शनिबार पत्रकार सम्मेलन मार्फत नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र भएकाले देशको मौलिक पहिचान, सभ्यता र सामाजिक सद्भावको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरिएको हो । 

हालै तराई–मधेसका विभिन्न स्थानमा भएका घटनापछि धर्म, संस्कृति, मानवअधिकार, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताप्रति नागरिकमा चिन्ता बढेको भन्दै राज्यका सबै निकायले कानुनी शासन, निष्पक्षता, संयमता र नागरिकको मौलिक अधिकारको सम्मान गर्दै काम गर्नुपर्नेमा समाजले जोड दिइएको छ।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा समाजले कुनै पनि विवादको समाधान हिंसा, प्रतिशोध वा द्वेषबाट नभई सत्य, न्याय, संवाद र संवैधानिक प्रक्रियाबाट हुनुपर्ने धारणा व्यक्त गरेको छ। साथै कुनै पनि नागरिकमाथि भएको अन्याय वा मानवअधिकार उल्लंघनका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

‘कुनै पनि विवादको समाधान हिंसा, प्रतिशोध वा द्वेषबाट होइन, सत्य, न्याय, संवाद र संवैधानिक प्रक्रियाबाट हुनुपर्छ। कुनै पनि नागरिकमाथि भएको अन्याय वा मानवअधिकार उल्लंघनको आरोप भए स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । 

समाजले सम्पूर्ण सनातन धर्मावलम्बी तथा नेपाली नागरिकलाई धैर्य, संयम र सामाजिक सद्भाव कायम राख्न तथा असहमति वा आन्दोलनका क्रममा पनि शान्तिपूर्ण र कानुनी मार्ग अपनाउन आग्रह गरेको छ। धर्मले समाजलाई जोड्ने कार्य गर्ने भएकाले राष्ट्रिय स्वाधीनता, सामाजिक एकता, धार्मिक समन्वय र न्यायको संरक्षणका लागि सबै पक्ष जिम्मेवार र संवादमुखी बन्नुपर्ने समाजको भनाइ छ।

‘धर्मले समाजलाई जोड्ने कार्य गर्छ, विभाजन गर्ने होइन। त्यसैले राष्ट्रिय स्वाधीनता, सामाजिक एकता, धार्मिक समन्वय र न्यायको संरक्षणका लागि सबै पक्ष जिम्मेवार, संवेदनशील र संवादमुखी बन्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ । 

समाजका प्रमुख माग

समाजले सरकारसमक्ष हालैका घटनाको स्वतन्त्र, निष्पक्ष र समयबद्ध छानबिन समिति गठन, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, दोषीमाथि कानुनी कारबाही, शान्तिपूर्ण सभा तथा धार्मिक स्वतन्त्रताको सम्मान, धर्म परिवर्तन रोक्न प्रभावकारी प्रशासनिक संयन्त्र, धार्मिक सम्पदाको संरक्षण, सरकार र धार्मिक गुरुबीच औपचारिक संवाद, कानुनी तथा प्रशासनिक सुधार, धार्मिक संस्थामा राजनीतिक नियुक्ति बन्द गर्नेलगायत माग अघि सारेको छ।

यसका साथै समाजले सनातन हिन्दू अधिराज्य स्थापनाका लागि संवैधानिक तथा प्रजातान्त्रिक प्रक्रियामार्फत आवश्यक पहल गर्न तथा परम्परागत धार्मिक पर्व मनाउने क्रममा मार्ग प्रयोगमा अवरोध नगर्न पनि सरकारसँग आग्रह गरेको छ।

आन्दोलनका कार्यक्रम सार्वजनिक

समग्र सनातन ॐकार धार्मिक समाजले साउन १७ गते आइतबार दिउँसो २ बजे काठमाडौंको माइतीघरमा ’सचेतना सभा’ आयोजना गर्ने जनाएको छ। साथै आफ्ना मागमा सरकारले सकारात्मक पहल नगरे साउन २० गते बुधबार सोही स्थानमा दिउँसो २ बजे ’खबरदारी सभा’ आयोजना गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : ३७ बजे