काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोजन्य बालीको संरक्षण, उत्पादन र उपभोग वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउन सबै सरोकारवालाले साझा प्रयास गर्नुपर्ने बताएकी छन्।
‘कोदोबाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा संवद्र्धन’ भन्ने नारासहित मनाइँदै गरिएको दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री चौधरीले कोदो तथा अन्य कोदोजन्य बाली खाद्य तथा पोषण सुरक्षा कायम गर्न तथा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन्।
उनले नेपालमा परम्परादेखि कोदो खेती र उपभोग हुँदै आए पनि पछिल्ला वर्षमा विभिन्न कारणले यसको उत्पादन र उपभोग घट्दै गएको बताएकी छन्। यद्यपि, हाल यसको बहुआयामिक महत्वबारे जनचेतना बढेसँगै कोदोजन्य बालीको माग पनि बढ्न थालेको उनले उल्लेख गरेकी छन्।
मन्त्री चौधरीले खाद्य सुरक्षा, पोषण सुधार, आयात प्रतिस्थापन तथा किसानको आम्दानी वृद्धि गर्न कोदोबालीको महत्वपूर्ण भूमिका रहने बताउँदै सरकारले उत्पादन वृद्धि, उत्पादकत्व अभिवृद्धि र व्यवसायीकरणका लागि विभिन्न नीतिगत तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएकी छन्।
उनका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जीन बैंकमा कोदोजन्य बालीका १ हजार ३०० भन्दा बढी रैथाने प्रजाति संरक्षण गरिएको छ। साथै बीउबिजन ऐन संशोधनमार्फत रैथाने तथा स्थानीय जातलाई राष्ट्रिय बीउबिजन समितिमा दर्ता गर्ने व्यवस्था पनि सरल बनाइएको छ।
प्रदेश र स्थानीय तहसँगको सहकार्यमा रैथाने बाली प्रवद्र्धन कार्यक्रम तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनले विद्यालयको दिवाखाजा, सरकारी कार्यालय तथा निजी क्षेत्रमार्फत कोदोजन्य परिकारको प्रयोग र बजारीकरण बढ्दै गएको बताएकी छन्।
शुभकामना सन्देशमा मन्त्री चौधरीले कृषक समूह, सहकारी र सामुदायिक बीउ बैंकले कोदो उत्पादन, संरक्षण र बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले दोस्रो राष्ट्रिय कोदो दिवसले कोदोजन्य बालीको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै उत्पादन र उपभोग बढाउन तथा खाद्य सुरक्षा र दिगो कृषि प्रणाली निर्माणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।








प्रतिक्रिया