काठमाडौं । सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् ।
छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता देशको पहिचानको आधार भएको उल्लेख गरिएको छ ।
कुनैपनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा असर पर्न नहुनेमा जोड दिइएको छ ।
सुनसरी, सिरहा तथा मधेस प्रदेशका विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
धर्मका नाममा हिंसा फैलाउने प्रयास भइरहेका बेला नागरिकलाई संयमित रहन, उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ ।
संयुक्त अपिलमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता सुदृढ गर्नु रहेको उल्लेख गर्दै एकअर्काप्रति सम्मान कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताइएको छ ।
अपिलमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय हुन आह्वान गरिएको छ ।
संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुंयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।








प्रतिक्रिया