Logo

मुख्य समाचार

सुनसरीका केही क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा यथावत, राजमार्गको कर्फ्यु मात्र हटाइयो


१२ श्रावण २०८३, मंगलबार  

0
Shares

काठमाडौं — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि जारी गरिएको कर्फ्यु र निषेधाज्ञा अझै केही क्षेत्रमा कायम रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अधिकारीका अनुसार राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइए पनि अन्य तोकिएका क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा यथावत् राखिएको छ। अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्गको कर्फ्यु मात्र हटाइएको र अन्य क्षेत्रमा सुरक्षा व्यवस्था कायम राख्न आदेश जारी रहेको उनले बताए।

गत आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गोली चलाउँदा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।

उक्त घटनापछि सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानदेखि केही क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा राजमार्ग क्षेत्रमा कर्फ्यु हटाइएपछि सर्वसाधारणमा अन्य स्थानको आदेश पनि हटेको भन्ने भ्रम फैलिएको भन्दै तोकिएका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा अझै प्रभावमा रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ११ : ३५ बजे