Logo

समाचार

‘हरेक विषयको आफ्नै इतिहास हुन्छ, इतिहास सबैसँग जोडिएको छ’



काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरूसँग नेपालको इतिहाससम्बन्धी विषयमा छलफल गरिएको छ ।

छलफलका क्रममा केन्द्रीय इतिहास विभागका पूर्वविभागीय प्रमुख राजकुमार पोखरेलले इतिहास प्रत्येक विषयसँग अभिन्न रूपमा जोडिएको विषय भएको बताए । उनले इतिहास विभागमा सांस्कृतिक इतिहास, कूटनीतिक इतिहासलगायत १८–१९ वटा विषयमा अध्ययन–अध्यापन भइरहेको जानकारी दिए ।

उनले भने,‘इतिहास एउटा व्यापक विषय हो । केन्द्रीय इतिहास विभागमा १८–१९ वटा विभिन्न विधामा इतिहासको अध्ययन–अध्यापन हुँदै आएको छ । विभागमा सांस्कृतिक इतिहास (कल्चरल हिस्ट्री), कूटनीतिक इतिहास (डिप्लोमेटिक हिस्ट्री) लगायतका विषय समेटिएका छन् ।’

उनले इतिहास हरेक विषयसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै कुनै पनि विषयको विकासक्रम इतिहासबिना बुझ्न नसकिने बताए । चिकित्सा विज्ञान, इन्जिनियरिङलगायत सबै क्षेत्रको आफ्नै इतिहास रहेको र मानव सभ्यताको विकासदेखि प्रत्येक व्यक्तिको अस्तित्वसम्म इतिहाससँग सम्बन्धित रहेको उनको भनाइ थियो ।

उनले भने, ‘कुनै पनि कुराको इतिहास नबनीकन त्यो आफैं बन्दैन । जे कुरा पनि इतिहासबाट बनेर आएको हुन्छ । मेडिकल साइन्सको पनि आफ्नो इतिहास छ । इन्जिनियरिङको पनि आफ्नो इतिहास छ । इतिहास सबैसँग जोडिएको हुन्छ । हामी मानव प्राणीको सबैको आफ्नो आफ्नो इतिहास छ ।’

पोखरेलले कुनैपनि विषयको विकास र अस्तित्व इतिहाससँग जोडिने उल्लेख गर्दै चिकित्सा विज्ञान, इन्जिनियरिङलगायत सबै क्षेत्रको आफ्नै इतिहास हुने बताए । मानव सभ्यताको विकासदेखि हरेक विषयको अध्ययन इतिहासमार्फत नै सम्भव हुने उनको भनाइ थियो ।

त्यसैगरी, राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीले देशको इतिहास खोज्ने र जान्ने अधिकार सबै नागरिकमा रहेको बताइन् । उनले नेपालको इतिहाससम्बन्धी विश्वसनीय आधार अझै पर्याप्त रूपमा स्थापित हुन नसकेको भन्ने विषय चिन्ताको रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘हामी सबैले देशको इतिहास खोज्ने जान्ने हक राख्छौं । तर देशकै इतिहास नहुनु आजको दिनमा विश्वसनीय आधार छैन इतिहासको भन्ने कुराहरु सुन्दाखेरि कता कता दुख पनि लागेको छ । हामी नीति निर्माणको तहमा छलफल गरिराख्दा मलाई लाग्छ नबनेका कुराहरुलाई बनाउँदै जाने कुरा अतिआवश्यक छ ।’

उपाध्यक्ष भण्डारीले नीति निर्माणको तहमा भइरहेको छलफलले इतिहासका अपूर्ण पक्षलाई व्यवस्थित र प्रमाणमा आधारित ढंगले निर्माण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याइन् ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ४८ बजे