Logo

Breaking News 1

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल



काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड ‘भिडा’ले आफ्नो अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्यका रूपमा नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ ।

कम्पनीले चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आफ्ना विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको हो । कम्पनीका अनुसार दैनिक प्रयोगका लागि भिडा भीएक्स–२ सिरिजका विद्युतीय स्कुटर तथा युवापुस्तालाई लक्षित भिडा डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल नेपालमा बिक्री गरिनेछ ।

हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी प्रमुख कौशल्या नन्दकुमारले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गर्नु कम्पनीका लागि गौरवको विषय भएको बताइन् । नेपाल विद्युतीय सवारीको सम्भावना तीव्र रूपमा बढिरहेको रणनीतिक बजार भएकाले यहाँ प्रवेश गरिएको उनको भनाइ छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल हरित यातायाततर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै भिडाको आगमनले विद्युतीय दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे ।

दुई संस्करणमा भीएक्स–२ स्कुटर

कम्पनीले भीएक्स–२ स्कुटरलाई ‘प्लस’ र ‘गो’ गरी दुई संस्करणमा सार्वजनिक गरेको छ । भीएक्स–२ प्लसमा निकाल्न मिल्ने दुईवटा ब्याट्रीसहित कुल ४.४ किलोवाट–घण्टा क्षमता रहेको छ । यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । स्कुटरको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ भने तीव्र चार्जिङ प्रणालीमार्फत करिब ६५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, भीएक्स–२ गोमा २.२ किलोवाट–घण्टा क्षमताको निकाल्न मिल्ने ब्याट्री रहेको छ । यसले करिब ७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने तथा अधिकतम प्रतिघण्टा ७० किलोमिटर गति दिने कम्पनीले जनाएको छ ।

दुवै स्कुटरमा घरमै सामान्य पाँच एम्पियरको विद्युत् सकेटबाट ब्याट्री चार्ज गर्न सकिने सुविधा छ । साथै मोबाइल एपमार्फत सञ्चालन, नेभिगेसन, जियो–फेन्सिङ, कल तथा सन्देश सूचना र ओभर–द–एयर सफ्टवेयर अद्यावधिकजस्ता स्मार्ट सुविधा पनि समावेश गरिएको छ ।

युवालाई लक्षित अफ–रोड बाइक

भिडा डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल विशेषगरी किशोर तथा युवा राइडरलाई लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताको उचाइ र उमेरअनुसार तीन फरक आकारमा समायोजन गर्न सकिने व्यवस्था यसमा रहेको छ ।

बाइकमा मोबाइल एपमार्फत अभिभावकले गति नियन्त्रण गर्न सक्ने सुविधा पनि दिइएको छ । यसमा तीनवटा गति मोड उपलब्ध छन् । जसबाट आवश्यकताअनुसार अधिकतम गति निर्धारण गर्न सकिन्छ ।

३५० वाट क्षमताको मोटर र निकाल्न मिल्ने ब्याट्री जडान गरिएको यो मोटरसाइकलले प्रयोगको अवस्थाअनुसार करिब तीन घण्टासम्म सञ्चालन हुने कम्पनीको दाबी छ । यसले अन्तर्राष्ट्रिय स्तरका डिजाइन तथा प्रविधि सम्बन्धी पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

एक दशकपछि विद्युतीय क्षेत्रमा नयाँ विस्तार

हिरो मोटोकर्पले सन् २०१४ देखि नेपाली बजारमा आफ्ना पेट्रोलबाट चल्ने दुईपांग्रे सवारी बिक्री गर्दै आएको छ । अब भिडा ब्रान्डमार्फत कम्पनीले नेपालमा विद्युतीय सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ ।

कम्पनीका अनुसार भीएक्स–२ स्कुटर र डर्ट–ई के–३ मोटरसाइकलको रेन्ज, गति तथा चार्जिङ समय कम्पनीको आन्तरिक परीक्षणका आधारमा मापन गरिएको हो । वास्तविक प्रयोग, सडकको अवस्था, मौसम तथा अन्य कारणले यसमा केही फरक पर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ९ : २९ बजे