Logo

मुख्य समाचार

मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा 


१ श्रावण २०८३, शुक्रबार  

23
Shares

काठमाडौं । मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ ।

झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीतिकथानकका रूपमा निर्माण गरेको ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् । फिल्म हेर्ने दर्शकको चाँप बढेसँगै फिल्म युनिट काठमाडौँका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेको छ ।  

सार्वजनिक प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शक तथा फिल्मकर्मीले यसको विषयवस्तु, निर्देशन, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक डा. कपिल रिजाल पछिल्ला केही वर्षदेखि फिल्म निर्माण तथा निर्देशनमा सक्रिय छन् । उनका अनुसार चिकित्सकको अनुभवले नै कथावस्तु छनोटमा प्रभाव पारेको छ । उनले निर्देशन गरेका ‘ह्यारीकी प्यारी’मा ‘स्पर्म डोनेसन’को विषय उठाइएको थियो भने ‘गौँथली’मा ‘माइल्ड अटिजम’ भएका व्यक्तिको जीवन र ग्रामीण समाजमा छोरीको शिक्षाको महत्त्वलाई केन्द्रमा राखिएको छ ।

निर्देशक रिजाल भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेकाले मेरा कथामा स्वास्थ्यसँग सम्बन्धित विषय आउनु स्वाभाविक हो । ‘गौँथली’ले स्वास्थ्यसँगै शिक्षाको महत्त्व पनि उठाएको छ । अहिले पनि ग्रामीण भेगमा यस्ता धेरै ‘गौँथली’ छन् । यो फिल्मले छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश दिन सक्यो भने मेरो प्रयास सफल हुनेछ ।’

फिल्ममा सिम्रन खड्काले एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा हासिल गर्ने सपना बोकेकी युवती ‘गौँथली’को भूमिका निर्वाह गरेकी छन् । तर उनको विवाह पढाइ पूरा नहुँदै गराइन्छ। विवाहपछि उनका श्रीमान् ठूले (अरुण क्षेत्री) ‘माइल्ड अटिजम’ भएका व्यक्ति भएको थाहा पाएपछि गौँथलीले आफ्नो अध्ययनलाई निरन्तरता दिन संघर्ष सुरु गर्छिन् ।

फिल्मले एउटी युवतीको शिक्षा, आत्मनिर्भरता र सपनाका लागि गर्नुपर्ने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। अभिनेत्री सिम्रन खड्का भन्छिन्, ‘यो फिल्मले एउटी छोरीले आफ्नो सपना पूरा गर्न कति संघर्ष गर्नुपर्छ भन्ने देखाउँछ। फिल्मले दर्शकलाई हँसाउँछ पनि, रुवाउँछ पनि। मनोरञ्जनसँगै राम्रो सन्देश दिने भएकाले दर्शक निराश हुने छैनन् ।’

फिल्ममा ‘माइल्ड अटिजम’ भएका युवकको भूमिका निर्वाह गरेका अभिनेता अरुण क्षेत्रीका लागि यो पात्र चुनौतीपूर्ण थियो । उनले भूमिका निर्वाह गर्नुअघि अटिजम भएका व्यक्तिसँग समय बिताएर उनीहरूको व्यवहार र मनोविज्ञान बुझ्ने प्रयास गरेको बताए । उनका अनुसार छायांकनको सुरुआती तीन दिन उनले संवाद नबोली केवल हाउभाउमार्फत अभिनय गरेका थिए। पात्रको मनोविज्ञान बुझ्दै जाँदा अभिनय सहज बन्दै गएको उनले बताए ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्म ‘गौँथली’ को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेकाछन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १० : २३ बजे