Logo

Breaking News 1

गैरसांसदलाई मन्त्री बनाउने चर्चाले गण्डकी तरंगित, मुख्यमन्त्री भन्छन्– कोटा छैन



काठमाडौं । गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन् । एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल सापकोटाले एमाले नै रोजेपछि यहाँ एकीकृत समाजवादीको उपस्थिति शून्य बराबर छ ।

सत्ता गठबन्धनमा रहेका सबै पार्टी सबै प्रदेश र संघ सरकारमा सहभागी हुने प्रस्तावस्वरुप सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मन्त्री मागेको छ ।

उता कांग्रेसले भाग मागेपछि गण्डकीमा एकीकृत समाजवादीले पनि आफ्नो भाग खोजेको छ । यही कारण प्रदेश मन्त्रीपरिषद्मा समाजवादीले गैरसांसदलाई मन्त्री बनाएर पठाउने तयारी गरेको चर्चा छ ।

‘सुदूरपश्चिम प्रदेसमा कांग्रेस छैन, त्यहाँ कांग्रेस जाने । यहाँ हामी छैनौं, हामी पनि जाने हुन सक्छ,’ एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले भने, ‘यो राम्रै कुरा हो । पार्टीभित्र छलफल भैसकेको छ ।’

केन्द्रीय नेतृत्वका बीचमा छलफल भएर सहमति समेत भैसकेको उनले सुनाए । ‘व्यक्तिको बारेमा भने छलफल भएको छैन । तर, सरकारमा सहभागी हुने कुरा चाहीँ लगभग पक्का हो,’ उनले भने, ‘अब कसलाई पठाउने केन्द्रबाटै आउँछ होला ।’ स्रोतका अनुसार प्रतापलाल श्रेष्ठ र श्रीनाथ बरालमध्ये एक जनालाई मन्त्री बनाउने चर्चा छ । ‘दुवैजना बलियो दावेदार हुनुहुन्छ । दुईमध्ये सम्भवतः एक जना मन्त्री बन्ने पक्का हो,’ स्रोतले भन्यो ।

तर, मन्त्रीमण्डलमा कसरी सहभागी गराउने भन्ने टुंगो भने अझै लागेको छैन । संविधानतः गैरसांसद ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउँछ । संविधानअनुसार २० प्रतिशत सांसद मन्त्री बनिसकेका छन् । कोटा पूरा भएकोले अब भैरहेका मन्त्रीलाई फिर्ता बोलाएर समाजवादीलाई छिराउनुपर्छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने यस विषयमा आफूलाई आधिकारिक जानकारी नआएको बताए ।

‘आधिकारिक रुपमा मैले थाहा पाएको छैन । मिडियाहरूमा आएको सुनेको छु,’ उनले भने, ‘केन्द्रले टुंग्यायो भने छुट्टै कुरा नत्र अहिले नयाँ मन्त्री बनाउन सजिलो छैन ।’ १२ मन्त्रीमध्ये यहाँ कांग्रेसको मात्रै पाँच जना छन् ।

माओवादीबाट चार जना, जनता समाजवादीका एक जना र अर्का एक जना स्वतन्त्र सांसद छन् । अनौपचारिक रुपमा एकीकृत समाजवादीका नेताहरूले खबर गर्दा कोटा नभएको जवाफ मुख्यमन्त्रीले फर्काए । अरुले पनि गैरसांसदलाइ मन्त्री बनाउने कुरा शोभनीय नहुने सुझाव दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : ११ बजे