काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउन नयाँ व्यवस्था लागू गरेको छ ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापन सम्बन्धी नयाँ प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नयाँ व्यवस्था अनुसार अब ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत समेत बन्द गर्न सक्नेछन् ।
ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ । अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता पुनः सक्रिय गराउन सक्नेछन् ।
केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी २०८३ साल पुस मसान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन बैंकहरूले खाता निष्क्रिय हुने समयअघि नै फोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनुपर्नेछ ।
यस्तै, निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रविधिको दुरुपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र बैंकले थप कडाइ गरेको छ । निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न बैंकहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ ।
त्यसैगरी, निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने शंकास्पद आर्थिक कारोबार (मनी म्युल) तथा अन्य वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा सूचना तथा सचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्ता गैरकानुनी वित्तीय गतिविधि पहिचान र नियन्त्रणका लागि बैंकहरूले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।








प्रतिक्रिया