काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दोषी ठहर गरेको छ ।
टोपबहादुरले राज्यविरुद्धको कसुर गरेको काठमाडौं जिल्ला अदालतले फैसला गरेको छ । टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन् ।
त्यस्तै, बालकृष्णसहित ६ जनालाई राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतले ठहर गरेको छ । टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेलले राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ ।
यसैबीच अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये सातजनालाई सफाइ दिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये सातजनालाई सफाइ दिएको हो ।
अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको हो ।








प्रतिक्रिया