काठमाडौं । उज्यालो नेपाल पार्टीका उप–महासचिव जितराम लामाले राष्ट्रिय पहिचानको संरक्षण, राजनीतिक स्थिरता, सुशासन र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताएका छन् ।
शनिबार रामेछाप–सुनापति (काठमाडौं सम्पर्क मञ्च)द्वारा आयोजित प्रथम भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै राजनीतिक दल रहे पनि बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक आवश्यकतालाई सम्बोधन गर्न नयाँ वैकल्पिक शक्तिको आवश्यकता भएकाले पार्टी गठन गरिएको बताए ।
उनले भने, ‘हाम्रो राष्ट्रिय पहिचान र यहाँको विविधतालाई जगेर्ना गर्न र त्यो नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई पनि विकासको आधारभूमिको रूपमा स्थापित गर्ने, नेपाल विविधताले भरिपूर्ण भएको देश हो ।’
उनले नेपालको जातीय, सांस्कृतिक र भौगोलिक विविधतालाई विकासको आधारका रूपमा उपयोग गर्नुपर्नेमा बताए ।
उनले भने, ‘यहाँ जातीय विविधता छ, भौगोलिक विविधता छ । विभिन्न जात, जाति, सम्प्रदाय, पेसा, व्यवसाय भएका भौगोलिक क्षेत्रहरू छन्, विकट क्षेत्रहरू पनि छ । त्यो सबै भौगोलिक विकटतालाई जोड्ने र यो विकासको बाधक होइन, सम्भावना हो, त्यसको लागि पनि पार्टीले सबैले एक बनाउनको लागि उज्यालो नेपाल पार्टी चाहिन्छ ।’
विविधता विकासको बाधक नभई सम्भावनाको स्रोत भएको बताउँदै उनले सबै क्षेत्र, समुदाय र वर्गलाई एकताबद्ध गर्दै राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताए ।
लामाले राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनका कारण मुलुकको विकास प्रभावित भएको बताए । उनले पुराना राजनीतिक दलहरूले वर्तमान चुनौतीको प्रभावकारी समाधान दिन नसकेको उल्लेख गरे । यही कारण नयाँ सोच र नयाँ नेतृत्वसहितको राजनीतिक विकल्प आवश्यक परेको उनले बताए ।
उनले भने, ‘राजनीतिक अस्थिरता र भ्रष्टाचारले गर्दा विकास एकदम चरम रूपमा कुशासन थियो, सुशासन थिएन । देश अविकसित तर्फ गइरहेको थियो, अधोगतितिर गइरहेको थियो । त्यसको लागि पनि यो समस्यालाई यथार्थ रूपमा निरूपण गर्नको लागि अब नयाँ पार्टी चाहिन्छ ।’
उनले विगतका राजनीतिक दल र नेताहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, आकांक्षा र सोचलाई जोड्ने साझा राजनीतिक मञ्चका रूपमा उज्यालो नेपाल पार्टीलाई विकास गरिएको उल्लेख गरे । ‘यो पुराना पार्टीले अब यो बदलिँदो परिस्थितिको लागि सम्बोधन गर्न सक्दैन, त्यसैले गर्दा नयाँ पार्टी चाहिन्छ,’ उनले भने ।








प्रतिक्रिया