काठमाडौं । प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
शुक्रबार बसेको परिषद् बैठकमा आङ्देम्बेले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय लामो समय रिक्त रहन नहुनेमा आफू सहमत रहेको तर नियुक्ति प्रक्रियाअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, ‘निर्वाचन आयोग रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ । तर तपाईंको कार्यशैलीप्रति मेरो सैद्धान्तिक असहमति छ । प्रमुख आयुक्त र आयुक्त सिफारिसअघि परिषद्का सदस्यहरूसँग छलफल हुनुपथ्र्यो ।’
प्रधानमन्त्री बालेनले भने आफूले परिषद्का सदस्यहरूसँग व्यक्तिगत रूपमा संवाद गर्ने प्रयास गरेको बताएका थिए । त्यसको जवाफमा आङ्देम्बेले प्रमुख विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष छलफल गर्नुपर्ने सुझाव दिए ।
आङ्देम्बेले ‘प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको रूपमा हाम्रो चिनजान नै भएको छैन, व्यक्तिगत रूपमा मात्रै चिन्छु,’ भन्दै परिषद्का सदस्यहरूबीच नियमित संवाद र समन्वय आवश्यक रहेको धारणा राखे ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच समेत संवादको अभाव देखिएको उल्लेख गर्दै संवैधानिक परिषद्मा पनि त्यही अवस्था दोहोरिन नहुने बताए ।
बैठकमा आङ्देम्बेले पूर्वी नेपालका तमोर करिडोरअन्तर्गत पुल निर्माण, राँके–रवि–भेडेटार सडकखण्ड र माइखोला–इलाम सडकको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई सम्बन्धित आयोजनाको स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिएका थिए ।








प्रतिक्रिया