काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा पु¥याइएको हो ।
इरानले जुलाई ४ र ५ मा तेहरानमा दुई दिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) का अनुसार कार्यक्रममा २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ, जसले इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
इरानी सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गरी खामेनीको निधनप्रति समवेदना व्यक्त गरेको जनाएको छ । संवादका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था, होर्मुज जलडमरूमध्य, लेबनान युद्धविराम र जारी कूटनीतिक वार्ताबारे पनि छलफल भएको बताइएको छ ।
यसैबीच, घानास्थित इरानी दूतावासले सन् २०१६ मा तत्कालीन घानाका राष्ट्रपति जोन ड्रामानी महामा र खामेनीबीच भएको भेटवार्तालाई स्मरण गर्दै श्रद्धाञ्जली सन्देश सार्वजनिक गरेको छ ।
दूतावासले खामेनीले अफ्रिकालाई आत्मनिर्भर र सम्मानित राष्ट्रहरूको महादेशका रूपमा हेर्ने दृष्टिकोण व्यक्त गरेको उल्लेख गरेको छ ।
भारतको विदेश मन्त्रालयले पनि बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) सैयद अता हसनैन तथा विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटा जुलाई ३ मा इरान पुगेर अन्त्येष्टि समारोहमा सहभागी हुने जनाएको छ ।
यता, नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा जोखिमका कारण आफ्ना पिता अली खामेनीको अन्त्येष्टि समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने जनाइएको छ ।
भारतका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि आयातोल्लाह हाकिम इलाहीका अनुसार इजरायलबाट हुन सक्ने सुरक्षा चुनौती र निगरानीको जोखिमका कारण यस्तो निर्णय गरिएको हो ।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार जुलाई ४ बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम सुरु हुनेछ भने जुलाई ५ बिहान अन्तिम प्रार्थना आयोजना गरिनेछ । त्यसपछि राजधानीको फराकिलो मार्ग हुँदै शवयात्रा निकालिनेछ ।
आईआरजीसीको तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार अपेक्षित भीडका कारण एउटै सडक प्रयोग गर्न नसकिने निष्कर्षपछि फराकिलो क्षेत्रमा शवयात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमका लागि मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकाय पूर्ण रूपमा परिचालन गरिएको छ । सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य सेवा, सरसफाइ र अन्य आवश्यक सुविधा उपलब्ध गराइने जनाइएको छ ।
इरानी अधिकारीहरूले समारोहमा १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्म सहभागी हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् भने केही मूल्यांकनले यो संख्या २ करोडसम्म पुग्न सक्ने देखाएको छ ।
इरानी पक्षका अनुसार अयातोल्लाह अली खामेनी यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका थिए । त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो । एएनआई








प्रतिक्रिया