सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा सम्पन्न छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ ।
रोमाञ्चक फाइनल प्रतिस्पर्धामा फयाफुल्ला तामाङ समाज, लुक्लालाई पराजित गर्दै कोङदे ‘टिम ए’ ले प्रतिष्ठित उपाधिमाथि कब्जा जमाएको हो । उपविजेतामा फयाफुल्ला तामाङ समाज सीमित रहँदा कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहकै ‘टिम बी’ तेस्रो स्थान हासिल गर्न सफल भयो ।
उपाधिसँगै विजेता टोलीले नगद ३ लाख रुपैयाँ, गोल्ड कप, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी (ःख्ए) कोङदे ‘टिम ए’ का प्रेम तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित विशेष सम्मान प्राप्त गरेका छन् ।
विधागत पुरस्कारतर्फ आमादब्लम युवा क्लब, पाङबोचेका पासाङ तेन्जी शेर्पा उत्कृष्ट सेटर, फयाफुल्ला तामाङ समाजका बिनराज राई उत्कृष्ट स्पाइकर, कोङदे ‘टिम ए’ का अशोक राई उत्कृष्ट डिफेन्डर तथा निम साङ्गे शेर्पा उत्कृष्ट सर्भर घोषित भएका छन् । अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले पुरस्कार वितरण गरेका थिए ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रथम तथा संस्थापक अध्यक्ष स्वर्गीय ङिम दोर्जि शेर्पाको स्मृतिमा विगत छ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा गाउँपालिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको हो।
क्यान्सरका कारण असमयमै निधन भएका स्वर्गीय शेर्पाको योगदानलाई स्मरण गर्दै आयोजित प्रतियोगितामा यस वर्ष ६ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी आयोजक समितिका अध्यक्ष फुनुरु शेर्पाले दिए ।








प्रतिक्रिया