काठमाडाैं । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलियालगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् ।
ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका छन् ।
उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका छन् । विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गतका गुप्तचर सेवाहरू तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट, पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै घातक षड्यन्त्र तथा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।








प्रतिक्रिया