गोदावरी (कैलाली) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनबाट ठकुल्ला तीन सय ३५ मतसहित निर्वाचित भएका हुन् ।
सभापतिका उम्मेदवार महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गर्नुभयो । उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन् ।
पाँचजना प्रतिस्पर्धीलाई पराजित गर्दै चौधरी एक सय ५२ मतसहित विजयी भएका हुन् । सचिवमा मदनराज जोशी, र सहसचिवमा गणेशबहादुर शाही विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
समितिको उपसभापतिमा अरूण कुमार रोकाया र राम बहादुर देवारबीच प्रतिष्पर्धा भएको थियो । रोकायाले ८४ र देवारले ९९ मत प्राप्त गरे ।
यस्तै, सचिवमा अशोक मल्ल एक सय १६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरे । सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल चयन भएका हुन् ।








प्रतिक्रिया