Logo

मुख्य समाचार

हुवावे आईसीटी प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी फाइनल सम्पन्न, एआई प्रतिभा विकासमा जोड



काठमाडौं । हुवावे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण तथा पुरस्कार वितरण समारोह चीनको शेन्जेनमा सम्पन्न भएको छ । आयोजकका अनुसार यस वर्षको संस्करण प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो बनेको छ ।

प्रतियोगितामा विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रका २ हजारभन्दा बढी उच्च शिक्षण संस्थाबाट २ लाख २० हजारभन्दा बढी विद्यार्थी तथा प्राध्यापक सहभागी भएका थिए । राष्ट्रिय तथा क्षेत्रीय चरण पार गर्दै ४९ देश तथा क्षेत्रका १७७ टोली विश्वव्यापी फाइनलमा पुगेका थिए ।

यस वर्ष प्रतियोगिताको १०औँ संस्करण सम्पन्न भएको हो । अभ्यास, नवप्रवर्तन र प्रोग्रामिङ गरी तीन प्रमुख विधामा भएको प्रतिस्पर्धापछि चीन, नाइजेरिया, सिंगापुर, अल्जेरिया, ब्राजिल, इजिप्ट, केन्या तथा डोमिनिकन गणतन्त्रका १८ टोलीले मुख्य पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्राविधिक उत्कृष्टतासँगै सामाजिक तथा वातावरणीय योगदानलाई पनि प्राथमिकता दिइएको थियो । “प्रविधिमा महिला” पुरस्कार अजरबैजान, नाइजेरिया, केन्या, चीन र बहराइनका सात महिला टोलीलाई प्रदान गरिएको थियो भने “हरित विकास पुरस्कार” घाना र चीनका टोलीले जितेका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै हुवावे आईसीटी रणनीति तथा व्यवसाय विकास विभागका अध्यक्ष रिची (होङ्ह्वा) पेङले प्रतियोगिताले ‘प्रविधिको सदुपयोग’ सम्बन्धी हुवावेको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताए । उनले प्रतियोगिताले विद्यार्थीहरूमा प्राविधिक दक्षता, नवप्रवर्तन क्षमता तथा वास्तविक समस्या समाधान गर्ने सीप विकास गर्न सहयोग पु¥याएको उल्लेख गरे ।

पेङले आगामी संस्करणदेखि चीनमा ‘एसेन्ड एआई अपरेटर डेभलपमेन्ट ट्र्याक’ सुरु गरिने घोषणा गर्दै यसले युवा विकासकर्ताहरूलाई अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधिसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर प्रदान गर्ने बताए ।

कार्यक्रममा युनेस्कोको सूचना प्रविधि शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानकी कार्यवाहक निर्देशक तथा शिक्षा र कृत्रिम बुद्धिमत्ता विभाग प्रमुख डा. शफिका इसाक्सले एआईको भविष्य निर्माणका लागि सरकार, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक क्षेत्र र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् ।

उनले युनेस्को र हुवावेबीच विभिन्न क्षेत्रमा एआई क्षमता विकास तथा आईसीटी शिक्षा विस्तारका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उदाउँदा प्रविधिको प्रयोगमार्फत वास्तविक समस्या समाधान गर्ने क्षमता प्रदर्शन गरेको बताइन् ।

प्रतियोगिताको विश्वव्यापी फाइनलसँगै हुवावेले ‘एआई एजुकेसन ट्रान्सफर्मेसन एक्सेलेरेशन समिट’ समेत आयोजना गरेको थियो। सम्मेलनमा शिक्षा र उद्योग क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ताले शिक्षा क्षेत्रमा ल्याइरहेको परिवर्तन, नवप्रवर्तन तथा उद्योग–शिक्षा सहकार्यका अवसरबारे छलफल गरेका थिए । यस अवसरमा हुवावेले विश्वविद्यालयहरूका लागि आईसीटी एकेडेमी एआई कोर्स सोलुसन सार्वजनिक गरेको छ । यसले उच्च शिक्षामा एआई अध्ययनलाई व्यवस्थित बनाउँदै ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै, कम्पनीले आईसीटी स्किल डेभलपमेन्ट इनसाइट्स रिपोर्ट एन्ड रिकमेन्डेसन्स समेत सार्वजनिक गरेको छ, जसले नीति निर्माताहरूलाई प्रतिभा विकास तथा डिजिटल उद्योग प्रवद्र्धनका लागि आवश्यक सुझाव प्रदान गर्ने विश्वास गरिएको छ ।

हुवावेका अनुसार कृत्रिम बुद्धिमत्ता, कम्प्युटिङ, बिग डाटा तथा साइबर सुरक्षाजस्ता क्षेत्रमा विश्वव्यापी रूपमा दक्ष जनशक्तिको माग बढ्दै गए पनि आवश्यक जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको छ । यही अन्तर घटाउन आईसीटी प्रतियोगिताले विद्यार्थीहरूलाई व्यवहारिक सीप, नवप्रवर्तन क्षमता तथा उद्यमशीलता विकास गर्ने अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १० : २३ बजे