Logo

समाचार

पोखरामा ‘डिजिटल गण्डकी संवाद २०२६’ आयोजना हुँदै, सोभरेन एआई र डिजिटल रूपान्तरणमा बहस हुने


२२ जेष्ठ २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । सूचना प्रविधि क्षेत्रका समसामयिक मुद्दा, डिजिटल रूपान्तरण र नीतिगत प्राथमिकतामाथि बहस गर्न पोखरामा ‘डिजिटल गण्डकी संवाद २०२६’ आयोजना हुने भएको छ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ गण्डकी प्रदेश र क्यान महासंघ कास्की जिल्ला शाखाको संयुक्त आयोजनामा आगामी जेठ २३ गते (जुन ६, २०२६) पोखरामा उक्त संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार कार्यक्रममा प्रविधि विज्ञ, नीति निर्माता, सरकारी प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवालाहरू सहभागी भई नेपालको डिजिटल भविष्य, सूचना प्रविधि नीति तथा प्रदेशस्तरीय डिजिटल इकोसिस्टमका विषयमा छलफल गर्नेछन्।

कार्यक्रमको अवधारणा क्यान महासंघका कार्यवाहक केन्द्रीय अध्यक्ष चिरन्जीवी अधिकारी को नेतृत्वमा विकसित गरिएको बताइएको छ। आयोजकले डिजिटल रूपान्तरणलाई राष्ट्रिय विकासको प्रमुख एजेन्डाका रूपमा स्थापित गर्ने उद्देश्यका साथ संवाद आयोजना गर्न लागिएको जनाएको छ।

क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि पाण्डे ले ‘डिजिटल गण्डकी’ अवधारणाले प्रदेशको सामाजिक तथा आर्थिक विकासलाई गति दिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत गण्डकी प्रदेशलाई देशकै अग्रणी डिजिटल हबका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

संवादमा मुख्य रूपमा तीन विषयमा केन्द्रित बहस हुने जनाइएको छ। पहिलो, आर्थिक वर्ष २०८३÷८४ को बजेटले डिजिटल रूपान्तरण र सूचना प्रविधि क्षेत्रलाई कसरी सम्बोधन गरेको छ भन्ने विषयमा समीक्षा गरिनेछ। यससँगै आईटी स्टार्टअप, डिजिटल सेवा विस्तार तथा प्रविधिमैत्री नीतिहरूबारे छलफल हुनेछ।

दोस्रो, ‘सोभरेन एआई’ अर्थात् नेपालको आफ्नै डिजिटल सार्वभौमिकतासहितको कृत्रिम बौद्धिकता (एआई) प्रणाली विकासको सम्भावना र चुनौतीबारे बहस गरिनेछ। कार्यक्रममा राष्ट्रिय डाटा सुरक्षा, नेपाली भाषा र संस्कृतिमा आधारित एआई मोडल निर्माण तथा डिजिटल आत्मनिर्भरताका उपायहरूबारे विज्ञहरूले धारणा राख्नेछन्।

तेस्रो, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) को प्रभावकारी मोडलका विषयमा छलफल हुनेछ। प्रदेशभर उच्च गतिको इन्टरनेट, डाटा सेन्टर र डिजिटल साक्षरता कार्यक्रम विस्तार गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य कसरी बढाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरिने आयोजकले जनाएको छ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर ले रणनीतिक नीतिहरूको प्रभावकारी कार्यान्वयन नै सफलताको आधार हुने उल्लेख गर्दै डिजिटल नीति स्थानीय व्यवसाय, विद्यार्थी तथा स्थानीय तहका लागि सहज र उपयोगी बन्नुपर्नेमा जोड दिए।

आयोजकका अनुसार ‘डिजिटल गण्डकी संवाद २०२६’ बाट प्राप्त निष्कर्ष, सुझाव र कार्ययोजनाले गण्डकी प्रदेशको डिजिटल रूपान्तरणको मार्गचित्र तयार गर्न सहयोग पु¥याउनेछ भने राष्ट्रिय सूचना प्रविधि एजेन्डालाई पनि थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ७ : २० बजे