Logo

समाचार

हिमालयमा तीव्र जलवायु परिवर्तन र बढ्दो विपद् जोखिम :विशेषज्ञ डा. श्रेष्ठ


२२ जेष्ठ २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठ ले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र र गम्भीर बन्दै गएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘हिमालय र वातावरण दिवस २०२६’ कार्यक्रममा बोल्दै उनले आफ्नो दीर्घ अनुभव र अध्ययनका आधारमा जलवायु प्रणाली, क्रायोस्फेयर (हिम, हिउँ र बरफ), जलचक्र तथा पानीसँग सम्बन्धित जोखिमहरूमा उल्लेखनीय परिवर्तन भइरहेको बताए।

उनले अनुसार सबै घटनालाई केवल जलवायु परिवर्तनसँग मात्र जोड्नु नहुने भन्दै कारण पहिचान गर्ने वैज्ञानिक दृष्टिकोण अझ बलियो बनाउन आवश्यक रहेको बताए । 

उनका अनुसार हिमालय क्षेत्र अहिले विश्वव्यापी ‘ट्रिपल प्लानेटरी क्राइसिस’ जलवायु परिवर्तन, जैविक विविधता ह्रास र प्रदूषणको प्रत्यक्ष प्रभावमा छ। विशेषगरी नेपाल र हिन्दुकुशहिमालय क्षेत्रमा तापक्रम वृद्धि, असमान वर्षा, र चरम मौसमी घटनाहरू लगातार बढिरहेका छन्।

डा. श्रेष्ठले पछिल्लो केही दशकमा तापक्रम वृद्धि तीव्र भएको उल्लेख गर्दै हिमाली क्षेत्रमा उचाइअनुसार तीव्र ताप वृद्धि देखिएको बताए। उच्च हिमाली क्षेत्रहरूमा तापक्रम अझ छिटो बढिरहेको कारण हिमनदीहरू छिटो पग्लिरहेको उनले बताए।

उनका अनुसार हिमपातको ढाँचा पनि परिवर्तन भएको छ,अहिले पहिलेको जस्तो नियमित र दीर्घकालीन हिमपात घट्दै गएको छ भने असामान्य समयमा भारी हिमपात वा वर्षा हुने क्रम बढेको छ। यसले कृषि, पर्यटन र स्थानीय जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ।

उनको अनुसार पछिल्ला अध्ययनअनुसार हिमनदीहरू निरन्तर घट्दै गएका छन् भने हिमतालहरूको संख्या र आकार दुवै परिवर्तन भइरहेको छ। 

उनले विशेष गरी हिमताल विस्फोट पहिरो, आकस्मिक बाढी र हिमपात–सम्बन्धित दुर्घटनाहरू बढ्दै गएको बताए। यी घटनाहरूले नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानसम्म ठूलो क्षति पु¥याइरहेका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ६ : २८ बजे