काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
यसैबीच, परराष्ट्रमन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले ती आकांक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै उनले विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बलियो बनाउनु नै विकासका कार्यक्रम र सामाजिक क्षेत्रका गतिविधिलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो।








प्रतिक्रिया