रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् ।
सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको मृत्यु भएको छ भने राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् । उद्धारकर्मीहरूले भग्नावशेषबाट एक तीन वर्षीया बालक, एक महिला र उनका आठ वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन् ।
विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । आक्रमण बिहानसम्म जारी रहँदा विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको थियो । डिनिप्रो र आसपासका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने राजधानी किएभमा पनि व्यापक क्षति पुगेको छ ।
युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी गरिएको छ । आक्रमणको लक्ष्य किएभ, डिनिप्रो, पोल्टावा, खार्किभ र जापोरिझिया क्षेत्रहरू रहेका थिए ।








प्रतिक्रिया