काठमाडौं । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसर पारेर चीनको हुनान प्रान्तमा ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।
‘उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’ (छाया र छविको संगम, हिमालको साझा चमक) भन्ने मूल नाराका साथ अप्रिल १४ देखि १९ सम्म हुनानका दुई प्रमुख सहरहरू छाङ्शा र हेङयाङमा यो महोत्सव आयोजना गरिएको हो ।
चीनमा नेपाली चलचित्रहरूको पहिलो ठूलो स्तरको आधिकारिक प्रदर्शनको रूपमा रहेको यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र चलचित्र आदान—प्रदानमा ऐतिहासिक कोशेढुङ्गा कायम गरेको छ ।
चिनियाँ दर्शकमाझ नेपालको अद्वितीय हिमाली परिदृश्य, संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न महोत्सवमा ६ वटा उत्कृष्ट र अत्यधिक रुचाइएका नेपाली चलचित्रहरू छनोट गरिएका थिए । जसमा कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, एन्जिला, तेलरभिसा र होस्टेल ३ रहेका छन् ।
आयोजकका अनुसार प्रदर्शित यी मध्ये कुनै दुई चलचित्रलाई चीनका सिनेमा हल वा ओटीटी (ओटिटि) प्लेटफर्ममा बजार व्यवस्थापन गरिनेछ । यसको अन्तिम निर्णय हुन केही समय लाग्ने चिनियाँ पक्षले जनाएको छ ।
नेपाली नयाँ वर्ष २०८३ को अवसरसँग जुराएर अप्रिल १४ मा छाङ्शामा उद्घाटन समारोह आयोजना गरिएको थियो । समारोहमा हुनान प्रान्तीय कमिटीका पदाधिकारीहरू, सिसिपीटी, सियाओसियाङ फिल्म ग्रुप र प्रान्तीय चलचित्र उद्योगका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले दुई देशको ऐतिहासिक मित्रताको चर्चा गर्दै चिनियाँ चलचित्र निर्माताहरूलाई नेपालमा छायाङ्कनका लागि आमन्त्रण गरे । उनले यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘चलचित्र ं पर्यटन’ को अवधारणा अगाडि सारे ।
त्यसैगरी, एभरेष्ट इन्टरनेसनल फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले यो महोत्सवलाई चिनियाँ बजारमा नेपाली चलचित्र प्रवेश गर्ने र सह—निर्माणको ढोका खोल्ने महत्त्वपूर्ण माध्यमको रूपमा रहेको बताए ।
चिनियाँ पक्षका तर्फबाट अध्यक्ष जियाङ बोले सन् २०२१ देखिको दुई वर्षभन्दा बढीको अथक प्रयासपछि महोत्सवले पूर्णता पाएको स्मरण गर्दै यसलाई विश्वव्यापी मञ्चमा लैजाने सांस्कृतिक सेतुको रूपमा वर्णन गरे ।
सियाओसियाङ फिल्म ग्रुपका प्रतिनिधि ली चेङले दुई देशबीच चलचित्र सहकार्य, प्रतिभा विकास र बजार प्रवद्र्धनमा आफ्नो समूहले ‘नाविक’को भूमिका खेल्ने प्रतिज्ञा गरे ।








प्रतिक्रिया