Logo

समाचार

प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ



काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट दरपीठ सम्बन्धी निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी रहेको हो । सर्वोच्च अदालत प्रशासनले गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीन वटा रिट दरपीठ गर्ने आदेश दिएको थियो ।

दरपीठ आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले छुट्टाछुट्टै निवेदन दिएका छन् । उनीहरूले रिट दर्ता अस्वीकार गर्ने प्रशासनिक निर्णय बदर गरी सुनुवाइ गर्न माग गरेका छन् ।

निवेदक पक्षको बहसपछि रिट दर्ता गर्ने वा दरपीठ आदेश सदर गर्ने भन्ने विषयमा अदालतले निर्णय गर्नेछ ।

यसैबीच, रिट दर्ता अस्वीकार गर्ने प्रशासनिक निर्णय कायम रहेकै अवस्थामा डा. शर्मा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त भई पदभार ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  २ : ०६ बजे