मुगु । मुगुको पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका २, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् ।
शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दैगर्दा उनीहरु बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी तीन वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका तीन वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार ६ः५० बजेतिर नदी किनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीले बगाएको स्थानीयवासीले बताएका छन् ।
घटनाबारे शुक्रबार साँझ ७ः३० बजे यार्सा संकलन सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि निरीक्षक रावलको कमाण्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको छ ।
खोजीका लागि अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमाण्डमा थप पाँच जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त स्थान अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट करिब २ घण्टा ३० मिनेट पैदल दूरी पूर्वतर्फ पर्दछ । हाल बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रबिराज थपलियाका अनुसार स्थानीय नागरिक र प्रहरीले घटनाको जानकारी पाएलगतै बच्चाहरुको खोजी कार्य जारी राखेको छ ।








प्रतिक्रिया