रामेछाप । स्वच्छ र स्वास्थ्य भान्सा नै पहिलो औषधालय भएको कुरा गृहणीहरुलाई बुझाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गृहणीहरुलाई भान्साघर आयुर्वेद औषधालय कार्यक्रम सञ्चालन गरेको छ ।
गृहणीहरुलाई भान्सालाई कसरी औषधालय र हरेक खानालाई कसरी औषधी तुल्य बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिई भान्सा सुधार गर्न कार्यालयले सो कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । उनले स्वास्थ्य सुधारको काम भान्साबाट नै सुरु गर्नुपर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।
खाँडादेवी गाउँपालिका–४ को माडीमुहानमा आयोजना गरिएको कार्यक्रममा चिकित्सालयका डाक्टर अरुण टेर्राले भान्सामा प्रयोग गर्ने भाँडादेखि खानेकुराको भण्डारण र पकाउने कुराले समेत स्वास्थ्यमा प्रभाव पार्ने भएकाले त्यस कुरामा ध्यान दिनुपर्ने बताए । बनाउन नजान्दा राम्रो खाना भए पनि नराम्रो प्रभाव पार्ने उनले जानकारी दिए ।
कार्यक्रममा चिकित्सालयकी डाक्टर सविता भण्डारीले खाना पकाउने ठाउँ सबैभन्दा पवित्र ठाउँ भएकोले सो ठाउँमा पकाउने कुराहरू पनि पवित्र हुनु पर्ने बताइन् । उनले भान्सामा प्रयोग गरिने कुन मसला र कुन खाने कुराले सरिरमा कस्तो काम गर्छ भन्ने कुराको जानकारी दिइन् । खाना पकाउने भाँडादेखि खाना पकाउने मान्छेको मन समेत पवित्र हुनु पर्नेमा उनले जोड दिइन् ।
चिकित्सालयका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, महिला स्वास्थ्य स्वयंसेवीका, आमा समूहका महिला तथा गृहणीहरुको सहभागिता रहेको थियो । सहभागी महिलाहरूलाई प्लास्टिकको झोलाको सट्टा बजार जाँदा प्रयोग गर्ने झोला तथा भान्सामा मसला राख्ने सुरक्षित बट्टा समेत प्रदान गरिएको थियो ।
८ जेष्ठ २०८३, शुक्रबार
0
Shares







प्रतिक्रिया