Logo

मनोरञ्जन

लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन् 



काठमाडौं । कहिलेकाहीँ केही फिल्महरू कथा सुनाउनुभन्दा पनि एउटा समाजको चिरफार गर्न जन्मिएका हुन्छन् । ‘लालीबजार’ त्यस्तै एउटा प्रयास हो । वादी समूदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरिएको छ यो चलचित्रमा । निर्देशक यम थापाले के देखाउन खोजेका हुन् भन्ने कुरा फिल्मले अलमल्याउँदैन । दृश्यहरू अनावश्यक लम्ब्याइएका छैनन्, कथाले घुमाउरो बाटो समात्दैन । त्यसैले फिल्म सुरु भएसँगै दर्शक ‘लालीबजार’को संसारभित्र छिर्छन् ।
फिल्मको केन्द्रमा छिन् मधुवाला अर्थात स्वस्तिमा खड्काले निभाएको पात्र । घरकी बिरामी आमा, जँड्याहा भाइ र जीवन धान्ने जिम्मेवारी बोकेकी मधु शरीर बेचेरै परिवार पालिरहेकी छिन् । गाउँकै बाहुन युवक नारायणसँग प्रेम बस्छ । भागेर बिहे गर्छिन्, तर समाजले त्यो सम्बन्ध स्वीकार्दैन । अन्ततः प्रेमभन्दा ठूलो ठहरिन्छ जात र वर्ग । मधु फेरि लालीबजार फर्किन्छिन् पेटमा एउटा भविष्य बोकेर ।
फिल्मको मूलभाव त्यहीँबाट सुरु हुन्छ । एउटा आमाले छोरीलाई आफूजस्तो जीवन नदिने अठोट । छोरी महारानीलाई पढाएर समाजको घेरा तोड्ने सपना । यही यात्रामा फिल्मले आमा–छोरी सम्बन्ध, वादी समुदायको पीडा, वर्गीय विभेद र महिलामाथिको सामाजिक अन्यायलाई एकसाथ समेट्ने प्रयास गरेको छ ।
तर समस्या यहीँ पनि देखिन्छ । फिल्मले उठाउन खोजेका मुद्दा गहिरा छन्, तर पटकथाले तिनलाई पर्याप्त धार दिन सक्दैन । मधु पात्रको संघर्ष कथामा भनिएजति तीव्र महसुस हुँदैन । समाजले अस्वीकार गर्दा उनी प्रतिरोधमा उभिँदैनन्, बरु फर्किन्छिन् । नागरिकताको समस्या आउँदा पनि संघर्ष उनको होइन, वरपरका पुरुष पात्रहरूको निर्णयले समाधान खोज्छ । यसले मधुलाई आफ्नो जीवनको चालकभन्दा परिस्थितिले बगाइरहेको पात्रजस्तो बनाइदिन्छ ।
सबैभन्दा ठूलो विडम्बना के छ भने, महिलाको कथा भन्न खोजिएको फिल्ममा पनि निर्णायक क्षणहरू पुरुष पात्रकै हातमा छन् । नारायणले भाग्ने योजना बनाउँछ, भाइले नागरिकताको बाटो खोलिदिन्छ । मधु अधिकांश समय रोइरहेकी, सहिरहेकी र परिस्थितिसँग हार मानिरहेकी देखिन्छिन् । नेपाली सिनेमाले वर्षौँदेखि दोहोर्याइरहेको ‘रुन्चे महिला पात्र’को छायाँ यहाँ पनि भेटिन्छ ।
तर अभिनयले भने फिल्मलाई धेरै ठाउँमा जोगाएको छ । स्वस्तिमा खड्काले मधुको पीडा, असहायता र ममतालाई निकै स्वाभाविक ढंगले पर्दामा उतारेकी छन् । उनको आँखाभित्रको थकान, बोलीभित्र दबिएको आक्रोश र छोरीप्रतिको माया धेरै दृश्यमा संवादभन्दा बलियो भएर निस्किएको छ । विशाल देवकोटाले निभाएको नारायण पात्र पनि प्रभावशाली छ । आफ्नो प्रेम र समाजबीच च्यापिएको एउटा पुरुषको द्वन्द्व उनले संयमताका साथ प्रस्तुत गरेका छन् । समाजको दबाबका कारण मधुलाई खुलेर स्वीकार्न नसकेका नारायणले छोरीको भविष्यका लागि लड्ने पात्रमा बदलिन्छन् ।
विशेषगरी आफ्नी छोरीलाई पढाउनुपर्छ, उसलाई राजाको जिम्मा लगाएर बेचिन दिनु हुँदैन भन्ने अडानमा उनी सबैसँग भिड्छिन। कहिले समाजसँग, कहिले राजासँग त कहिले आफ्नै पत्नी मधुसँग उनको टकराव देखिन्छ । यही संघर्षले नारायण पात्रलाई केवल प्रेमी होइन, एउटा जिम्मेवार बुबाको उचाइमा पुर्याउँछ ।
फिल्मको अन्तिमतिर मृत्युको मुखसम्म पुगेर उनको भूमिका टुंगिन्छ, जसले कथालाई थप भावुक बनाइदिन्छ । विशालले नारायणभित्रको निर्दोषपन, असहायता र साहसलाई सुरुदेखि अन्त्यसम्म समान लयमा बगाएका छन्, जसले यो पात्रलाई दर्शकको मनमा लामो समयसम्म जीवित राख्छ ।
यसैगरी राजाको भूमिकामा देखिएका रवीन्द्रसिंह बानियाँले फिल्ममा गहिरो प्रभाव छाडेका छन् । उनी पर्दामा देखिनेबित्तिकै पात्रभित्रको शक्ति, डर र सामाजिक हैसियत महसुस हुन्छ । वादी समुदायमाथि राज्य र सत्ताले कसरी हेथ्र्यो भन्ने कुरा उनको हाउभाउ, संवाद र उपस्थितिले संकेत गरेको छ । 
रवीन्द्रसिंह बानियाँको अभिनयको विशेषता नै पात्रलाई अतिरञ्जित होइन, भित्री दबाबसहित प्रस्तुत गर्नु हो, जुन ‘लालीबजार’मा पनि देखिन्छ । उनको संवाद बोल्ने शैलीमा कठोरता छ, तर त्यो केवल व्यक्ति होइन, एउटा संरचनाको प्रतिनिधि जस्तो लाग्छ । विशेषगरी मधुजस्ता पात्रहरूसँगको व्यवहारमा उनले शक्ति र विभेदको मनोविज्ञानलाई स्वाभाविक ढंगले उतारेका छन् । रवीन्द्रसिंह बानियाँले आफ्नो अनुभव र अभिनय क्षमताले फिल्मलाई बलियो बनाउने काम गरेका छन् ।
फिल्मको अर्को सबल पक्ष यसको दृश्य भाषा हो । फुङ्ग उडेको रंग संयोजन, पुरानो समयको बनोट र परिवेशले दर्शकलाई २०४५ सालतिर फर्काइदिन्छ । गीत र पाश्र्वध्वनिको प्रयोग पनि जबर्जस्ती लाग्दैन । विशेषगरी ‘म प्यार बेचिदिन्छु’गीतले कथाको भावनात्मक तहलाई अझ गहिरो बनाइदिन्छ ।
तर फिल्मले वादी समुदायलाई चित्रण गर्दा अपेक्षित संवेदनशीलता भने कायम राख्न सकेको छैन । समूदायको पीडाभन्दा पनि कतिपय दृश्यमा व्यवसायिक सिनेमाको आकर्षण बढी देखिन्छ । वादी महिलाहरू किन यस्तो अवस्थासम्म पुगे ? राज्य कहाँ असफल भयो ? वादी समाज भनेको के हो ? समाजले किन उनीहरूलाई यही चक्रमा धकेल्यो ? फिल्मले यी प्रश्नहरूलाई सतहबाट छोएर छाडेको अवस्था छ । यदि यही पक्षलाई गहिरो बनाइएको भए, ‘लालीबजार’ एउटा शक्तिशाली सामाजिक दस्तावेज बन्नसक्थ्यो ।
तर यति कमजोरीका बीच पनि फिल्मको अन्तिम भागले दर्शकलाई भावुक बनाउँछ । जब मधु आफ्नो छोरीको भविष्यलाई आफ्नै जीवनभन्दा ठूलो सपना ठान्छिन्, त्यहाँ एउटा आमाको मौन संघर्ष बोल्न थाल्छ । छोरीले आफूले नपाएको सम्मान पाओस् भन्ने चाहनामा मधुको थकित अनुहारले धेरै कुरा भन्छ । त्यो क्षणमा फिल्म केवल वादी समुदायको कथा रहँदैन, एउटा आमाको त्यागको कथा बन्छ । र प्रायः यो फिल्म हेर्ने सबैका आँखा रसाउन पुग्छन् ।
अन्ततः लालीबजार पूर्ण फिल्म होइन, तर महत्वपूर्ण फिल्म हो । यसले प्रश्न उठाउँछ, केही ठाउँमा चुक्छ, केही ठाउँमा मन छोएर जान्छ । विशेषगरी अन्तिमतिर फिल्मले दर्शकलाई भावनात्मक बनाउँछ किनकी त्यहाँ एउटा आमाको सपना छ, जुन समाजभन्दा ठूलो देखिन्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ५८ बजे