सुर्खेत । नेपाली काँग्रेसका निवर्तमान सभापति पुर्णबहादुर खड्कालाई पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरुले सुझाव दिएका छन् ।
निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशको भेला आयनेजना गरेका छन् ।
नेपाली काँग्रेस कर्णाली प्रदेश समितिमा देउवा समितिको बाहुल्यता छ । त्यसको फाइदा उठाउँदै खड्काले प्रदेश समितिमार्फत गुटको भेला आयोजना गरेका छन् ।
भेला उद्घाटन गर्दै शनिबार खड्काले पार्टी विभाजनको संघारमा पुगेको अभिव्यक्तिले कर्णालीका काँग्रेस नेताहरुलाई चिन्तित र त्रसित बनाएको जिल्ला सभापतिहरुले बताएका छन् ।
सुर्खेत पुगेका खड्काले काँग्रेसका प्रदेश र जिल्ला तहका नेताहरुलाई भेटेर काँग्रेसमा विवादको भएको र विवाद समाधानका लागि नेतृत्व गम्भीर नभएको बिफ्रिङ गरेका छन् ।
जिल्लागत रुपमा नेताहरुसंग भेटेका खड्काले नेतृत्वको अहमताले पार्टी एकता जोगाउन सकिने अवस्था नरहेको बताएको भेटमा सहभागी एक जिल्ला सभापतिले बताए ।
पार्टीको विवाद समाधान गरि आसन्न १५ ओैं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनेगरि लाग्न आफुले आग्रह गरेको ती सभापतिले बताए ।
‘निवर्तमान कार्यवाहक सभापतिले पार्टी एकताका लागि गम्भीर नभएको र पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अपमान गरी पार्टी कब्जा गर्ने मनसायले अगाडि बढेको बताउनुभयो,’ उनले भने,‘अपमान सहेर पार्टीमा रहिरहन सकिने अवस्था देखिएन भन्नुभयो ।’ पार्टी एकतामा दुबै पक्षले लचकता अपनाउन आग्रह गरेको ती सभापतिले बताए ।
कार्यक्रममा जाजरकोटका सभापति बेदराज सिंहले पार्टीको आनतरिक विवादले प्रतिनिधिसभा निर्वाचनमा भोगेको क्षतिलाई सम्झेर सबै पक्षको लचकता जरूरी भएको बताए ।
‘भदौ २३ गतेको जोजी बिद्रोह र २४ गतेको विध्वंस निन्दनीय भएपनि यो अवस्था ल्याउन काँग्रेस पनि जिम्मेवार रहेको कुरा भुल्न हुँदैन’ उनले भने, ‘नागरिकका असन्तुष्टि बेलैमा सम्बोधन गर्न काँग्रेस चुकेको पनि सत्य हो नि ।’ त्यसैले काँग्रेसले पार्टीभित्रका विवादलाई साँघुरो बनाउँदै बृहत् एकता गरि अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।
खड्कासँग भेटेका अधिकांश नेताहरुले पार्टी एकतामा लाग्न दबाब दिएका छन् । काँग्रेभित्रका गुटहरु संस्थागत भएको भन्दै कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
भेटका क्रममा पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने खड्काले बताएका थिए ।








प्रतिक्रिया