Logo

Breaking News 1

जलजले मिथेन ग्यास परियोजना : नेपालको आर्थिक र ऊर्जा सुरक्षाको नयाँ मार्गचित्र



बखतबहादुर शाही
निवर्तमान प्रमुख कार्यकारी अधिकृत
विद्युत उत्पादन कम्पनी लिमिटेड

काठमाडौं । नेपालको ऊर्जा इतिहासमा दैलेखको जलजले मिथेन ग्यास परियोजना एउटा यस्तो मोडका रूपमा देखा परेको छ, जसले मुलुकको आर्थिक र रणनीतिक भविष्यलाई नै नयाँ दिशा दिने सामथ्र्य राख्छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ मा अवस्थित यो परियोजना केवल एउटा प्राविधिक अन्वेषण मात्र नभई नेपालको ऊर्जा सुरक्षा र राष्ट्रिय स्वाधीनताको मेरुदण्ड बन्ने निश्चित छ ।

लामो समयदेखि वैदेशिक इन्धनमा रहेको अत्यधिक निर्भरताले नेपालको अर्थतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थामा यो परियोजनाले आशाको नयाँ किरण सञ्चार गरेको छ । हाल नेपालले वार्षिक रूपमा पेट्रोलियम पदार्थको आयातका लागि करिब ३२० अर्ब रुपैयाँभन्दा बढी खर्च गरिरहेको तथ्याङ्कले हाम्रो विदेशी मुद्रा सञ्चितिमा कति ठूलो दबाब छ भन्ने प्रष्ट पार्छ । यस्तो आर्थिक जटिलताको बीचमा स्वदेशमै मिथेन ग्यासको व्यावसायिक उत्पादन सम्भव हुनु भनेको नेपालको व्यापार घाटा न्यूनीकरण र दीर्घकालीन आर्थिक आत्मनिर्भरतातर्फको एउटा ऐतिहासिक फड्को हो ।

परियोजनाको विकासक्रमलाई हेर्दा यसको जग सन् २०१६ मा नेपाल र चीनबीच भएको उच्चस्तरीय समझदारीबाट बसेको देखिन्छ । सन् २०१९ बाट चीन सरकारको प्राविधिक सहयोगमा सुरु भएको यो अन्वेषण कार्यमा ‘चाइना जियोलोजिकल सर्भे’ र ‘सिबु ड्रिलिङ इन्जिनियरिङ’का विशेषज्ञहरूको प्रत्यक्ष संलग्नता रहेको छ । खानी तथा भूगर्भ विभागको समन्वयमा सञ्चालित यस परियोजनाले करिब ४०१३ मिटरको गहिराइसम्म ड्रिलिङ सम्पन्न गरेर नेपालको भूगर्भभित्र लुकेको सम्भावनालाई उजागर गरिसकेको छ ।

१६ महिनासम्म गरिएको विस्तृत भू–वैज्ञानिक र भूकम्पीय सर्वेक्षणले दैलेखको शिरस्थान, नाभिस्थान र पादुका क्षेत्रमा ग्यासको उल्लेख्य भण्डार रहेको बलियो संकेत दिएका छन् । करिब २.४ अर्बको प्रारम्भिक लागतमा अघि बढाइएको यो आयोजना प्राविधिक रूपमा नेपालकै सबैभन्दा जटिल र गहिरो अन्वेषण कार्य मानिन्छ, जसमा सयौं नेपाली कामदार र चिनियाँ प्राविधिकहरू अहोरात्र खटिएका छन् ।

नेपालको राष्ट्रिय सुरक्षा र ऊर्जा स्वाधीनताको दृष्टिकोणले यो परियोजनाको महत्व झनै गहिरो छ । विगतका विभिन्न समयमा सीमा क्षेत्रमा हुने आपूर्ति अवरोध र अन्तर्राष्ट्रिय बजारमा हुने इन्धनको मूल्यवृद्धिका कारण नेपाली जनजीवन र अर्थतन्त्रले बारम्बार गम्भीर संकट भोग्दै आएको छ । इन्धन आपूर्तिमा देखिने सानो अवरोधले पनि अस्पताल, उद्योग, यातायात र कृषि जस्ता आधारभूत क्षेत्रहरू ठप्प हुने गरेका छन् ।

यस्तो परिस्थितिमा जलजले मिथेन ग्यास परियोजनाले नेपाललाई बाह्य देशको भर पर्नुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्ति दिलाउन ठोस आधार प्रदान गर्नेछ । आफ्नै जमिनबाट ग्यास उत्पादन हुँदा यसले राष्ट्रिय निर्णय प्रक्रियामा आत्मविश्वास भर्ने मात्र नभई भूराजनीतिक संवेदनशीलताका बीच नेपाललाई एउटा ऊर्जा–सुरक्षित राष्ट्रको रूपमा स्थापित गर्न मद्दत पु¥याउनेछ ।

मिथेन ग्यासको उपयोगिता केवल औद्योगिक क्षेत्रमा मात्र सीमित छैन । यसले नेपालको दैनिक जनजीवनका हरेक पक्षलाई सकारात्मक रूपमा प्रभाव पार्ने क्षमता राख्छ । व्यावसायिक उत्पादन सुरु भएपछि यो ग्यासलाई यातायातका साधनमा सीएनजीका रूपमा, औद्योगिक कारखानाहरूमा इन्धनका रूपमा र घरायसी प्रयोजनका लागि तापीय ऊर्जाको रूपमा प्रयोग गर्न सकिन्छ ।

विशेषगरी होटल, रेस्टुरेन्ट र ठूला व्यावसायिक प्रतिष्ठानहरूका लागि यो सस्तो र सहज विकल्प हुनेछ । कृषि क्षेत्रमा पनि यसको प्रयोगले सिँचाइ र भण्डारणलाई लागत–प्रभावी बनाउन सक्छ । यसरी बहुआयामिक प्रयोगमार्फत मिथेन ग्यासले नेपालको समग्र उत्पादन प्रणालीलाई प्रतिस्पर्धी बनाउन र ऊर्जामा हुने खर्च घटाउन ठूलो भूमिका खेल्ने निश्चित छ ।

नेपालको जलविद्युत प्रणालीसँगको अन्तरसम्बन्धका हिसाबले पनि यो परियोजना अत्यन्त रणनीतिक मानिन्छ । जलविद्युत उत्पादनमा मौसमी उतारचढाव हुने भएकाले हिउँदको समयमा वा पिक डिमान्डका बेला मिथेन ग्यासले भरपर्दो ‘ब्याकअप’ ऊर्जा प्रदान गर्न सक्छ । यसले नेपालको विद्युत प्रणालीलाई सन्तुलित र स्थिर बनाउन मद्दत गर्छ ।

अर्कोतर्फ, भविष्यमा यही मिथेन ग्यासलाई हाइड्रोजन ऊर्जा उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने सम्भावना छ, जसले नेपाललाई विश्वव्यापी स्वच्छ ऊर्जा संक्रमणमा अग्रपंक्तिमा उभ्याउनेछ । जलविद्युत र मिथेन ग्यासको उचित समायोजनबाट नेपालले एउटा मजबुत र भरपर्दो ऊर्जा मिश्रित प्रणाली विकास गर्न सक्नेछ ।

वातावरणीय लक्ष्यका दृष्टिले नेपालले सन् २०४५ सम्ममा ‘नेट–जिरो उत्सर्जन’ हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । तत्कालै पूर्ण रूपमा विद्युतीकरण सम्भव नभएको अवस्थामा मिथेन ग्यासलाई एउटा संक्रमणकालीन इन्धनको रूपमा स्वीकार गर्न सकिन्छ । कोइला वा अन्य परम्परागत जीवाश्म इन्धनको तुलनामा मिथेन कम प्रदूषक हुने भएकाले यसले जलवायु परिवर्तनका लक्ष्यहरूसँग तालमेल मिलाउन मद्दत गर्छ । यसले स्वच्छ ऊर्जा प्रणालीतर्फको यात्रालाई थप सहज र व्यावहारिक बनाउनेछ । त्यसैले यो परियोजना केवल आर्थिक वृद्धिको साधन मात्र नभई वातावरणीय दिगोपना र जलवायु न्यायका लागि पनि एउटा महत्त्वपूर्ण कदम साबित हुन सक्छ ।

वर्तमान अवस्थामा यो परियोजनाले केही प्राविधिक र प्रशासनिक चुनौतीहरूको सामना गरिरहेको छ । सन् २०२५ को अन्त्यसम्ममा चिनियाँ टोलीले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको भए तापनि अन्तिम प्रतिवेदनको औपचारिक आदानप्रदान र व्यावसायिक उत्पादनको प्रक्रियामा केही ढिलाइ भएको देखिन्छ । यस्ता रणनीतिक परियोजनामा हुने समयको बर्बादीले देशलाई ठूलो अवसर लागत भोग्न बाध्य पार्छ । त्यसैले अब नेपाल सरकारले कुनै पनि बहानामा ढिलासुस्ती नगरी ग्यासको गुणस्तर परीक्षण र व्यावसायिक सम्भाव्यताको अन्तिम टुङ्गो लगाउन आवश्यक छ । पाइपलाइन विस्तार, प्रशोधन केन्द्र निर्माण र वितरण पूर्वाधारको योजना अहिलेदेखि नै तयार नपारे भविष्यमा उत्पादन सुरु हुँदा वितरणमा समस्या आउन सक्छ ।

निष्कर्षमा भन्नुपर्दा, जलजले मिथेन ग्यास परियोजना नेपालको आर्थिक रूपान्तरणको एउटा ठूलो महायज्ञ हो । यसलाई सफल बनाउन सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा यसलाई ‘शीर्ष राष्ट्रिय प्राथमिकता’ प्राप्त आयोजनाको रूपमा घोषणा गरी द्रुतमार्गबाट अघि बढाउनुपर्छ ।

यदि हामीले समयमै यस परियोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्न सक्यौं भने नेपालले अर्बौंको विदेशी मुद्रा बचत गर्ने मात्र नभई राष्ट्रिय स्वाधीनता र आर्थिक समृद्धिको नयाँ इतिहास लेख्नेछ । यो परियोजनाको सफलताले नेपाललाई ऊर्जामा आत्मनिर्भर मात्र बनाउने छैन, बरु छिमेकी मुलुकहरूसँगको व्यापारिक सन्तुलन कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न एउटा बलियो आधार खडा गर्नेछ । त्यसैले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नु आजको राज्यको अनिवार्य दायित्व हो ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  १२ : १३ बजे