Logo

Breaking News 1

बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुने



बाजुरा । बाजुरा जिल्लामा ‘स्थानीय नेतृत्वमा आधारित, डिजिटल रुपान्तरणका लागि राष्ट्रिय मञ्च’ ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ सञ्चालन हुने भएको छ ।

जिल्लाका चार स्थानीय तह बडीमालिका बुढीगंगा,बुढीनन्दा र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ को आयोजना गरिने भएको हो ।

आगामी असार १३ र १४ गते हुने शिखर सम्मेलनमा अन्तिम तहका समुदायका वास्तविकता,प्रदेश प्रणाली, राष्ट्रिय नीति,साझेदारी र लगानीलाई जोड्ने अपेक्षा लगिएको छ ।

बाजुराबाट सुरु भई सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै संघीय राजधानी काठमाडौंसम्म सम्मेलन सञ्चालन हुने छ । बिहीबार सदरमुकाम मार्तडी, बडीमालिका नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि शिखर सम्मेलनको बिषयमा जानकारी गराईएको हो । जिल्लामा सम्मेलनको समन्वय बडीमालिकाका नगर प्रमुख अमर खड्काले गर्ने भएका छन् ।

नेपालको दुर्गम तथा अन्तिम तहका समुदाय,अग्रपंक्तिका स्वास्थ्यकर्मी,महिला स्वयंसेविका,स्थानीय सरकार र स्वास्थ संस्थाका वास्तविक अनुभवलाई डिजिटल स्वास्थ रुपान्तरणको राष्ट्रिय संवाद, नीति, साझेदारी लगानीसंग जोडिने छ ।

सम्मेलन स्थानीय सरकारको नेतृत्वमा प्रदेशस्तरीय सरोकारवाला निकाय,स्मार्ट हेल्थ ग्लोबलको प्राविधिक तथा कार्यान्वयन नेतृत्व,स्वास्थ खवर फाउन्डेसनको मिडिया तथा समन्वय नेतृत्व लगायत साझेदार संस्थाहरुको सहकार्य सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगर प्रमुख अमर बहादुर खड्काले समग्र बाजुरा जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या,चुनौती र आगामी दिनमा राज्यले लिनुपर्ने दायित्वका बिषयमा सबै सरोकारवाला निकायलाई एउटै मञ्चमा राखेर कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

उनले पालिका स्तरमा हुने दुई दिनको कार्यक्रममा पहिलो दिन बुढिनन्दा र बुढिगंगाका स्वास्थ क्षेत्रका बिषय टेलिहेल्थको कार्यक्रम,समस्या,चुनौति र समाधानका उपायबारे छलफल गरिने जानकारी दिए । छलफल पश्चात् दुईटै पालिकामा भएको निष्कर्षलाई सदरमुकाममा विभिन्न क्षेत्रका विचार,विमर्श,प्रस्तुतिकरण,बहसका कार्यक्रम गरि बाजुरा घोषणापत्र प्रकाशित गरिने बताएका हुन् ।

जिल्लामा हुने सम्मेलनमा स्थानीय वास्तविकता,समुदायका आवाज,अग्रपंक्तिका स्वास्थ्यकर्मीका अनुभव,महिला र स्वास्थ्य स्वयंसेविकाको भूमिका,स्थानीय सरकारको नेतृत्व र डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यासहरु प्रस्तुत गरिने छन् । बाजुराको अन्तिम तहमा स्वास्थ्य सेवाको वास्तविक अवस्था हेर्न,बुझ्न र परिवर्तनको सहयात्री बन्न साझा आमन्त्रण समेत गरिएको छ ।

सम्मेलनले अन्तिम तहका वास्तविक व्यवहारिक प्रमाण,
प्रदेशस्तरिय प्रतिबद्धता, राष्ट्रिय नीति संवाद र लगानीयोग्य सिफारिसमा रुपान्तरण गर्ने अपेक्षा लगिएको छ । सम्मेलनमार्फत समुदायका आवाज, स्थानीय सरकारको नेतृत्व, स्वास्थ्यकर्मीका अनुभव, डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यासलाई राष्ट्रिय तहमा प्रस्तुत गरिने छ ।

आयोजकले विकास साझेदार,दातृ निकाय, प्रायोजक, विश्वविद्यालय,सञ्चारमाध्यम,स्वास्थ्यकर्मी, प्रविधि तथा डिजिटल स्वास्थ नवप्रर्वतनकर्ता,नीति निर्माता, अनुसन्धानकर्ता र विश्वव्यापी डिजिटल स्वास्थ्य नेतृत्वकर्ताहरुलाई सम्मेलनमा सहभागी हुन आग्रह समेत गरिएको छ । यस सम्मेलनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको उजागर गर्न सहयोग पुग्ने विश्वास लगिएको छ ।

प्रदेश तह धनगढीमा हुने सम्मेलनमा जिल्लास्तरिय प्रमाण,अनुभव र सिकाईलाई सुदूरपश्चिम प्रदेशको स्वास्थ प्रणाली,योजना एकीकरण र विस्तारसंग जोड्ने बिषयमा छलफल गरिने छ । भने राष्ट्रिय तहमा हुने सम्मेलनमा स्थानीय तथा प्रदेशबाट प्राप्त प्रमाण,अनुभवलाई राष्ट्रिय नीति,संवाद साझेदारी,लगानी र नेपालको डिजिटल भविष्यसंग जोडिनेछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ८ : ३५ बजे