Logo

मुख्य समाचार

विश्व रेडक्रस दिवसः सोलुखुम्बुमा जीवनरक्षक भूमिकामा रेडक्रस


२५ बैशाख २०८३, शुक्रबार  

23
Shares

सोलुखुम्बु । आज विश्व रेडक्रस दिवस मानवता, निष्पक्षता र सेवाको भावनालाई स्मरण गर्ने विशेष दिन। यही सन्दर्भमा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य, राहत तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर जीवनरक्षक भूमिका निभाउँदै आएको छ । विश्व रेडक्रस दिवसको अवसरमा जिल्लामा रेडक्रसले पुर्याउँदै आएको योगदान फेरि एकपटक चर्चामा आएको छ ।

मानवता, निष्पक्षता र सेवाको भावनालाई आत्मसात् गर्दै रेडक्रसले विशेषगरी दुर्गम क्षेत्रका नागरिक तथा तीर्थयात्रीलाई लक्षित गरेर विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । दुधकुण्ड मेलाको समयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर यसको प्रमुख उदाहरण बनेको छ । उक्त शिविरमा लेक लाग्ने समस्या, टाउको दुख्ने, बान्ता हुने, रिङ्गटा लाग्ने, उच्च रक्तचाप, झाडापखाला तथा श्वासप्रश्वासमा कठिनाइ भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिँदै आएको छ ।

यसका साथै भूकम्प, पहिरो, बाढी तथा आगलागीजस्ता विपद्का समयमा उद्धार, राहत वितरण, अस्थायी आवास व्यवस्थापन तथा जोखिम न्यूनीकरणका कार्यक्रममार्फत रेडक्रस अग्रपंक्तिमा सक्रिय रहँदै आएको छ ।

रेडक्रसले स्वास्थ्य तथा विपद् सेवासँगै समुदायमा सरसफाइ, खानेपानी र स्वास्थ्य शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । आकस्मिक अवस्थाका लागि रगत उपलब्ध गराउने समन्वय, ब्लड ग्रुपिङ तथा प्राथमिक उपचार तालिमजस्ता कार्यहरू पनि निरन्तर भइरहेका छन् ।

जिल्लाभर रहेका उपशाखामार्फत सयौं स्वयंसेवक परिचालन गर्दै रेडक्रसले युवा तथा जुनियर रेडक्रस सर्कल गठनमार्फत सामाजिक सेवामा युवाको सहभागिता बढाउने कामसमेत गरिरहेको छ ।

सोलुखुम्बुसँग रेडक्रसको ऐतिहासिक सम्बन्ध पनि जोडिएको छ । रेडक्रसको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल केटुमा फहर्याउने गौरव यही जिल्लाबाट सुरु भएको मानिन्छ ।

वि.सं. २०२० सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी हाल देशकै सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा परिचित छ । सोलुखुम्बुमा यसको सक्रियताले ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने सन्देशलाई व्यवहारमै प्रमाणित गरेको देखिन्छ ।

नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका सभापतिमा रामकाजी श्रेष्ठ रहेका छन् । जिल्ला कार्यसमितिको उपसभापतिमा रोहित प्रसाद बास्तोला, महिला उपसभापतिमा सरस्वती खड्का, मन्त्रीमा दिपक राजभण्डारी, कोषाध्यक्षमा सुरेश खड्का तथा उपमन्त्रीमा राजेन्द्र कुमार बस्नेत रहेका छन् ।

त्यस्तै उपकोषाध्यक्षमा कल्पना गिरी बस्नेत तथा सदस्यहरूमा जमुना राई, डबल सिंह राई, मणिमाया नेपाली, छत्रबहादुर खड्का, बुद्धिकुमार राजभण्डारी, थिरबहादुर कार्की, पोष्टकुमार कार्की, जीवनप्रसाद कोइराला, धन्दीराम राई र गणेशकुमार कार्की रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले आगामी दिनमा पनि सम्पूर्ण टिम मिलेर समाज सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ४५ बजे