Logo

विश्व

साउदी अरबको असहयोगपछि होर्मुजमा अमेरिकी ‘स्वतन्त्रता अभियान’ रोकियो



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खुलाउन सुरु गरेको ‘स्वतन्त्रता अभियान’ ३६ घण्टामै रोकिएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, अभियान रोकिनुको मुख्य कारण साउदी अरबको असहयोग रहेको बताइएको छ । साउदी अरबले आफ्नो प्रिन्स सुल्तान हवाई सैनिक आधार र हवाई क्षेत्र अमेरिकी सैन्य प्रयोगका लागि उपलब्ध गराउन अस्वीकार गरेपछि अमेरिका पछि हट्न बाध्य भएको जनाइएको छ ।

डोनाल्ड ट्रम्पले भने पाकिस्तानसहित केही देशको आग्रहपछि वार्ताका लागि अभियान स्थगित गरिएको बताएका थिए । तर, अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई पूर्वजानकारी नदिई अभियान घोषणा गरिएकाले क्षेत्रीय असन्तुष्टि बढेको थियो ।

समाचारअनुसार, डोनाल्ड ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानबीच टेलिफोन संवाद भए पनि कुनै सहमति हुन सकेन । त्यसपछि साउदी अरबले आफ्नो हवाई क्षेत्र प्रयोगमा रोक लगाएपछि ‘स्वतन्त्रता अभियान’ प्रभावहीन बनेको बताइएको छ ।

अभियानअन्तर्गत अमेरिकाले दुई जहाज सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए पनि थप सैनिक गतिविधि अघि बढाउन सहयोगी राष्ट्रहरूको समर्थन आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।

यसअघि इरानविरुद्ध सञ्चालन गरिएको ‘भीषण आक्रोश अभियान’का क्रममा भने साउदी अरबले अमेरिकी विमानलाई प्रिन्स सुल्तान हवाई सैनिक आधार प्रयोग गर्न अनुमति दिएको थियो । हाल उक्त आधारमा अमेरिकी लडाकु विमान र हवाई सुरक्षा प्रणाली तैनाथ छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ११ : ३४ बजे