काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ले कर्णाली प्रदेशको कालिकोट जिल्लामा वर्षा तथा आगलागीबाट प्रभावित ४३ घरपरिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित परिवार तथा आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ। राहत वितरण शुभकालिका गाउँपालिका वडा नं. ७ र ८, महावै गाउँपालिका वडा नं. ५ र ६, खाँडाचक्र नगरपालिका वडा नं. १ र ५ तथा तिलागुफा नगरपालिका वडा नं. ७ र १० का प्रभावित परिवारलाई गरिएको हो। साथै तिलागुफा नगरपालिका वडा नं. ५ र ६ तथा खाँडाचक्र नगरपालिका वडा नं. १० का आगलागी पीडित परिवारलाई पनि सहयोग गरिएको कम्पनीले जनाएको छ।
राहत वितरण कार्यक्रममा कम्पनीको सुर्खेत शाखा प्रमुख विश्वराज बोगटीको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी पीडितहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुगेर राहत उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्।
कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ले हाल देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी तथा लगानी २० अर्ब रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन्।








प्रतिक्रिया