काठमाडौं । पर्यटन विभाग अन्तर्गतको सगरमाथा आधार शिविर रहने अस्थायी फिल्ड कार्यालयमा अधिकृतस्तर आठौंका ज्ञानेन्द्रकुमार श्रेष्ठ थप गरिएको छ । फिल्ड संयोजकमा भने ०८३ बैशाख ३ गतेकै मितिमा उपसचिव खिमलाल गौतमलाई जिम्मेवारी तोकिएको छ ।
उपसचिव एवं प्राविधिक गौतमलाई सगरमाथा आधार शिविरमा हुने पर्वतारोहण गतिविधिको समन्वय गर्ने सरकारी अधिकारी तोकिएको हो । गौतम र श्रेष्ठसँगै छिरिङ शेर्पा, कृष्णकुमार मगर र सुशील शेर्मालाई सदस्य तोकिएको छ । उक्त फिल्ड कार्यालयमा तोकिने अधिकारीलाई सगरमाथा आधार शिविरमा अनुगमन, रिपोर्टिङ र समन्वय गरी खुम्बु क्षेत्रको पर्वतारोहण गतिविधिलाई व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो बनाउने जिम्मेवारी दिइएको विभागका सूचना अधिकारी हिमाल गौतमले जानकारी दिए ।
यस कार्यालयले सगरमाथासहित ल्होत्से, नुप्से, पुमौरी र लिनट्रेन हिमालको आरोहणका लागि सहजीकरण गर्नेछ । ५ हजार मिटरमाथिको उचाइमा रहेर झण्डै ४५ दिन निगरानी गर्ने कार्यलाई चुनौतीपूर्ण मानिन्छ । उपसचिव गौतमले यसअघि पनि सोही जिम्मेवारी निर्वाह गरेका थिए । तर हालै अनुमति विना नै आधार शिविरमा एक अमेरिकी ड्रोनको उद्घाटन भएपछि गौतम विवादमा तानिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्प (सगरमाथा आधार शिविर)मा अनुमति विना ड्रोनको सार्वजनिक रुपमै उद्घाटन गरेका थिए । नापी विभागका ईन्जिनियर समेत रहेका उपसचिव गौतम ड्रोन उद्घाटन भएको पाँच मिटर नजिक बस्नेगरेपनि उक्त सार्वजनिक कार्यक्रम र अनुमति लिए वा नलिएकोबारे उनलाई जानकारी नहुनुलाई आश्चर्य मानिएको छ । काठमाडौंदेखि सगरमाथाको फेदीसम्म पुग्दासम्म उक्त ड्रोन कसरी र कुन माध्यमबाट वा कुन संस्थाको सहजीकरणमा पुगेर उद्घाटन गरियो भन्ने गौतमले थाहा नपाएको विषय रहस्यमय छ ।
विभागले ०८३ बैशाख २१ गते नै एक सूचना जारी गर्दै सगरमाथा आधार शिविरमा हुने पर्वतारोहण गतिविधिका सम्बन्धमा कडाइ गरेको छ ।
विभागले जारी गरेको पत्रमा भनिएको छ,‘मिति २०८२ । १२ । २७ गतेको निर्णयानुसार सगरमाथा आधार शिविरमा अनुगमन, रिपोर्टिङ्ग र समन्वय गरी खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधिहरुलाई व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो बनाउन आरोहण अवधिभरको लागि सगरमाथा आरोहण गरेका निजामती कर्मचारीको नेतृत्वमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना गरिएको व्यहोरा जानकारी गराईन्छ । उक्त क्षेत्रमा सरकारी निकाय तथा निजी क्षेत्रवाट हुने हरेक गतिविधिलाई पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ लगायत प्रचलित नियम कानूनको परिधिभित्र रही गर्नु गराउनुहुन अनुरोध छ । यस विभागको अनुमति विना सगरमाथा आधारशिविर क्षेत्र र सो भन्दा माथि कुनै पनि फोटो भिडियो लिने र प्रकाशन प्रशारण नगर्नु नगराउनुहुनका साथै सो सम्बन्धी कुनैपनि गतिविधि भए सोको जानकारी अस्थायी फिल्ड कार्यालयमा गराई आरोहण सम्बन्धी सूचनाको प्रकाशन तथा प्रसारणमा एकरुपता कायम गर्न, एउटै आधारशिविर भएका हिमालहरु (सगरमाथा, ल्होत्से, नुप्से, पुमौरी, र लिनट्रेन) को सफलतापूर्वक आरोहण गरेका आरोही र सहयोगी कर्मचारीहरुको यथार्थ विवरण अस्थाई फिल्ड कार्यालयमा उपलब्ध गराई सहजीकरण गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
फोटो र भिडियोमा कडाइ
तर सगरमाथा आधार शिविर क्षेत्र र सो भन्दा माथि कुनैपनि फोटो भिडियो लिने र प्रकाशन प्रशारण गर्न नपाइने भन्ने विषयमा नेपाल न्यूज बैंकको जिज्ञासामा विभागका सूचना अधिकारी हिमाल गौतमले संवेदनशिल र राष्ट्रिय महत्वको विषयलाई संयमित साथै विभागसँगको समन्वयमा मात्र सार्वजनिक गरौं भन्ने उद्देश्य रहेको बताए । ‘आधार शिविरमै उभिएर व्यक्तिगत रुपमा फोटो वा भिडियो राख्न समस्या भएन तर आमसंचारमाध्यमहरुमा प्रकाशन वा प्रशारण गर्दा संयमित हुनुपर्छ भनेर सूचना जारी गरेका हौं । अन्तर्राष्ट्रिय जगतमा वा पर्यटन क्षेत्रमा नकरात्मक सन्देश नजाओस भन्ने उद्देश्यले सचेत गराएका हौं,’ उनले भने ।
ड्रोन भिडियोको सन्दर्भमा भने विभिन्न निकायहरुसँग सम्बन्धित हुने भएकाले विषय फरक रहेको औंल्याए । ‘ड्रोन वा फिल्मी प्रयोजनका लागि सम्बन्धित अन्य सरकारी निकायसँग अनुमति लिएर गरिएको काममा विभागले रोक्न मिल्दैन् । तर नियमित अनुगमन गर्ने, मनिटरिङ गर्ने काम भनेको विभागकै हो । यद्यपी, खानतलासी गरेको वा दुःख दिएको भन्ने विषयमा हामीलाई जानकारी छैन्,’ सूचना अधिकारी गौतमले भने ।
संयोजक गौतमकै फेसबुकमा ड्रोन भिडियो
तर अमेरिकी ड्रोन उद्घाटनको भिडियो, फोटो तथा समाचार संसारभर सार्वजनिक भएपछि प्रमुख गौतमले सार्वजनिक उक्त कार्यक्रमको ‘भिडियो कसले मिडियामा पठायो, अनुसन्धान गर्नुपर्छ’ भन्दै कडाइ गरेका थिए । तर गौतमले ड्रोनबाट कैद भएको भिडियो आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । उक्त भिडियोकै सम्बन्धमा पनि प्रश्न उठेको छ । उक्त भिडियो कहाँबाट अनुमति लिएर खिचिएको हो वा ड्रोन मोडल कुन हो भन्ने उल्लेख छैन् । या उनले आफैं ड्रोन उडाएर भिडियो कैद गरेका हुन वा उनलाई कुनै अनुमति नचाहिने हो ? प्रश्न उठेको छ । घट्नाका विषयमा आवश्यक प्रतिक्रिया लिनका लागि गौतमको मोबाइल नम्बर ९८५१०३७५५६ मा सम्पर्क गर्दा ‘स्वीच अफ’ भएको पाइयो । साथै वाट्सएपमा पनि सम्पर्क हुन सकेन ।
उनी सन् २०११ देखि सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयमा निरन्तर खटिदै आएका छन् । सन् २०२५ बाहेक स्न २०११ देखि हरेक बर्ष उनलाई फिल्ड कार्यालयमा खटाइएकोमा पनि आशंका देखिएको छ । यता, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले भने गौतमले गरिरहेका गतिविधि मापदण्ड वा कार्यविधि अनुसार नै रहेको बताउँछन् ।
लामिछानेले अनुमति नभएका ड्रोन उडान साथै अनुमति बिना व्यावसायिक सुटिङबारे अनुगमन एवम निरीक्षण गर्ने अधिकार भएपनि नियन्त्रण गर्न नपाउने उल्लेख गर्दै हाल भइरहेका गतिविधिबारे थप अध्ययन गरिरहेको बताए । सगरमाथा जस्तो संवेदनशील र राष्ट्रिय गौरवको विषयलाई विवादित नबनाउन पनि उनले आग्रह गरे ।








प्रतिक्रिया