काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सुकुम्बासी विस्थापनको विषयमा सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा उनले काठमाडौँमा सुकुम्बासीहरू हटाइँदा देखिएका दृश्यहरूले बसाइ उपन्यास पढ्दाको पीडा सम्झाएको बताएका छन्। ‘समय बदलियो तर पीडाको स्वरूप उस्तै छ,’ उनले लेखेका छन्।
उनका अनुसार विगतमा सामन्ती संरचनाले गरिब र भूमिहीनलाई विस्थापित गर्ने अवस्था थियो भने अहिले ‘विकास’ र ‘व्यवस्थापन’ का नाममा राज्यले नै गरिबको बास खोसिरहेको आरोप लगाएका छन्।
शिवाकोटीले यो विषयलाई केवल कानुनी प्रश्नका रूपमा मात्र नहेर्न आग्रह गर्दै मानवीय न्याय र करुणासँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन्। उनले राज्यले कमजोर वर्गको आवाज नसुन्ने र विस्थापितहरूलाई सम्मानजनक पुनस्र्थापना नगर्ने हो भने साहित्यमा चित्रित कथा वर्तमान यथार्थमा परिणत हुने चेतावनी दिएका छन्।
पछिल्ला दिनमा बालेन साह नेतृत्वको सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यका तर्फबाट भएका ज्यादतीलाई लिएर सुकुम्बासी व्यवस्थापन र पुनस्र्थापनाको विषयमा पुनः बहस सुरु भएको छ। यसक्रममा हजारौँ सुकुम्बासी विस्थापित भएका छन् भने दुईजनाले आत्महत्या समेत गरेका छन्।








प्रतिक्रिया