Logo

मुख्य समाचार

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय



रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णय नमान्ने भएको छ । उक्त निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा वैशाख १६ गतेदेखि आइतबारसमेत सेवा सञ्चालन हुने जनाइएको छ । कार्यालयहरू बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ ।

गाउँपालिकाले जारी गरेको सूचनामा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको वार्षिक पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ । साथै, गाउँपालिकाको भौगोलिक अवस्था र न्यून इन्धन खपतका कारण इन्धन बचतको उद्देश्य यहाँ सान्दर्भिक नदेखिएको स्पष्ट पारिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थाहरू आइतबार बन्द हुँदा दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रभावित हुने भएकाले सेवा निरन्तरता आवश्यक रहेको जनाइएको छ । जनसेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन पनि आइतबार कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

सूचना अनुसार गाउँपालिका तथा वडा कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म, विद्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछन् ।
गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले सबै कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १० : ३४ बजे