Logo

Breaking News 1

मानसिक स्वास्थ्य समस्या समाधान गर्न काठमाडौं महानगरमा क्षेत्रगत अधिकारीसँग छलफल



काठमाडौं । मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालाको भूमिका छलफलका विषय थिए ।

छलफलमा कार्यवाहक प्रमुख डंगोलले व्यक्ति र परिवारमा साना साना कुराले पनि ठुलो पिरालो गरेको बताउँदै यही पिरोलोका कारण व्यक्तिहरू मानसिक समस्यामा रहेको तथ्यमा चर्चा गरिन् ।

‘विवाहपछि महिलाहरूको जिम्मेवारी, उनीहरूप्रति परिवार र समाजको अपेक्षा, यस क्रममा गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा धेरै ठुलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ । यो एउटा उदाहरण हो । यस्तो अरू पनि अवस्था छन् । यस्ता अवस्था पुरुषहरूमा पनि छन् ।’

उनले समस्या समाधानको उपायका विषयमा कुरा गर्दै भने, ‘शारीरिक रूपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने तर, मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नु पर्ने अवस्थामा सुधार गर्नु अहिलेको पहिलो आवश्यकता हो । यो सुधारका लागि मिलेर काम गरौँ ।’

‘महानगरपालिकाले अहिले अभ्यास गरेको स्वास्थ्य प्रवर्धनका कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी सेवालाई कहाँ जोड्न सकिन्छरु जोडिएका कम्पोनेन्टहरूलाई कसरी प्रभावकारी सञ्चालन गर्न सकिन्छ । यसका लागि प्राज्ञिक क्षेत्रबाट सुझाव चाहिएको छ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. ले भने, ‘विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधारका काम गर्नेछौँ ।’

बैठकमा प्रा.डा. रवि शाक्य, डा. सुरज प्रधान, डा. ऋषभ कोइराला, पीताम्बर कोइराला, रमेश खड्का, श्रेया गिरी, प्रमिला वस्ती, मातृका देवकोटासहित क्षेत्रगत विशेषज्ञले धारणा राख्दा, मानसिक रोगलाई व्यक्तिगत समस्या मानेको, व्यक्तिको अयोग्यताको सूचक मानिएको, सामाजिक लाञ्छना लाग्ने गरेको, मानसिक रोगको समस्यालाई व्यक्ति एक्लैले सामना गर्नु परेको अवस्थाबाट सुधार गर्नु पर्ने विषयलाई साझा मतका रूपमा राखेका थिए ।

शारीरिक भौतिक अवस्थाको स्वास्थ्यप्रति लगानी भएको, सचेतना र प्रवर्धनका लागि काम भएको छ । तर, मानसिक स्वास्थ्यका अपेक्षित प्राथमिकता छैन । अहिले शारीरिक स्वास्थ्यका क्षेत्रमा निरोगात्मक र उपचारात्मक विधि जे छन् ।

प्रयोगशाला र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा जे काम भएका छन् । ती कार्यक्रममा मानसिक स्वास्थ्यका कार्यक्रम जोडेर काम थाल्नु पर्छ । त्यसपछि मानसिक स्वास्थ्य परामर्श र उपचारका कार्यक्रम स्थानीय तहबाटै सञ्चालन गर्नुपर्छ । छलफलमा सुझाव प्राप्त भएको छ ।

व्यक्तिले जीवनलाई नोक्सान गर्ने गरी निर्णय लिने एकै छिनको समयका लागि सहायता दिएर जीवनप्रति उत्साह थप गर्न सकियो भने जीवन बचाउन सकिन्छ । व्यक्तिहरूमा बढ्दै गएको डिजिटल लत पनि मानसिक रोगको कारण बनेको छ । यसबाट बालबालिकालाई बचाउनु पर्नेछ । तनाव व्यवस्थापन गर्ने कतिपय नेपाली परम्परागत विधि छन् । वैज्ञानिक पक्ष छन् । ती पक्षको प्रवर्धन गर्नुपर्छ । मानसिक स्वास्थ्य परीक्षणका सूचकहरू नेपाली सामाजिक परिवेश अनुरूपका हुनुपर्छ ।

खुसीका सूचक तयार पार्नुपर्छ । मानसिक स्वास्थ्य प्राप्त गर्ने सेवा प्रदायकहरूको नक्साङ्कन गर्नुपर्छ । यो प्रणाली विकास गराउन महानगरपालिकाले काम गर्नुपर्छ ।’ विज्ञहरूले सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ४४ बजे