काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङले २४ घण्टाभित्र राजीनामा नदिए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ ।
मंगलबार काठमाडौंमा कार्यक्रम गरेर गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेको छ ।
अभियानका संयोजक सुनिल सिंहले गृहमन्त्रीले तत्काल राजीनामा दिनु उचित हुने बताए । जेनजीको संघर्षलाई हाइज्याक गरेर दुई तिहाई ल्याएर जेनजीलाई नै अपमान गरिरहेको सिंहले जिकिर गरे ।
‘यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो’ सिंहले भने ।
सस्तो लोकप्रियताबाट उदाएको रास्वपा सरकार सिंगो देशका निम्ति घातक बन्न थालेको बताउँदै सिंहले भने,‘स्टन्टबाजहरुले जतिसुकै नाटक गरे पनि उनीहरुका गलत हर्कतहरुको कारण एकदिन आफंै सडकमा पछारिने निश्चित छ ।’
अभियानका सह–संयोजक अजय सोडारीले गृहमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने माग गरे । ‘हिजो राजनीतिमा हुँदा ‘देशमा केही भएन, गरिखान गाह्रो भयो’ भन्नेहरू आज एकाएक करोडौंका मालिक बनेर देखिनु आफैंमा प्रश्न उठाउने विषय हो’सोडारीले भने ।
सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र उनका साथीहरूले ‘नेपो किड’ विरुद्ध आन्दोलन गरेको तर आज उनीहरु आफै त्यही प्रवृत्तिका प्रतिनिधि देखिएको आरोप लगाए । उनले थपे,‘गरिबीको पक्षमा बोलेर आएका उहाँहरु आज गरिबलाई नै होच्याउने अवस्थामा पुग्नु भएको छ, जुन हास्यास्पद विषय हो ।’
अभियानका सचिव प्रकाश बमले भदौ २३ र २४ गतेको आन्दोलनको बलबाट आएको सरकारका गृहमन्त्रीले आफैमाथि प्रश्न उठ्दा तत्काल राजीनामा दिएर सहज गर्नुपर्ने बताए ।
तत्कालिन गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएको घटनाको स्मरण गराउँदै बमले भने,‘यत्रो शक्तिशाली गृहमन्त्रीले आफ्ना कर्तुतको ढाकछोप गर्नुले रास्वपामाथि नै प्रश्न उठ्दैन र ?’
८ बैशाख २०८३, मंगलबार
69
Shares







प्रतिक्रिया