काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महीना (साउन–चैत)मा नेपालको निर्यात व्यापार २ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४६ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको चैतसम्म वस्तु तथा सेवा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर रहेकोमा चालु आवको चैतसम्म आइपुग्दा यो रकम २ खर्बमाथि पुगेको छ । त्यस्तै, गत फागुनसम्म नेपालको निर्यात १ खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।
यता, आयात पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवको ९ महीनामा आयात १३ दशमलव ८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आवको सोही अवधिमा नेपालले १३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
निर्यातमा वृद्धि भए पनि आयात उच्च दरले बढिरहेकाले व्यापार घाटा थप फराकिलो भएको छ। समीक्षा अवधिमा व्यापार घाटा १३ दशमलव ०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब रुपैयाँ नाघेको छ । गत आवको चैतसम्म यस्तो घाटा ११ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।
अर्थविद्हरूका अनुसार निर्यात बढ्नु सकारात्मक संकेत भए पनि आयातमा उच्च निर्भरता कायमै रहेकाले व्यापार सन्तुलनमा चुनौती देखिएको छ । दीर्घकालीन रूपमा व्यापार घाटा घटाउन उत्पादन वृद्धि, निर्यात विविधीकरण तथा आयात प्रतिस्थापनमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।








प्रतिक्रिया